जन्ते बाख्रोले उत्साहित आशिफ

काठमाडौं । आशिफ शाह धेरैपछि फिल्म ‘जन्ते बाख्रो’ मार्फत दर्शकसामु आउँदैछन् । त्यसो त मिडियामा चर्चामै रहिरहने आशिफले फिल्म भने निकै कम गरेका छन् । ‘मिसन पैसा’मा सानो भूमिकामा देखिएका आशिफले ‘लभ सासा’ र ‘दुई रुपैयाँ’मा मुख्य अभिनेताको रुपमा काम गरेका छन् । उनले ‘कर्कश’ नामक फिल्मको निर्देशन पनि गरेका थिए ।

म्युजिक भिडियो निर्देशकको रुपमा परिचय बनाएका आशिफले ‘जन्ते बाख्रो’ आफ्नो स्वभावसँग मिल्दोजुल्दो भएकाले अफर भएको बताए ।

‘फिल्मलाई सिमोस सुनुवारले निर्देशन गर्दै हुनहुन्छ र बन्दै छ भन्ने मैले थाहाँ पाएको थिएँ । किनकि हाम्रो सर्कल लगभग एउटै छ । निर्देशकले मेरो पात्रको बारेमा सुनाउँदै यो कसलाई सुहाउँला भनेर एक जना मेकअप आर्टिस्टलाई सोध्नु भएछ । उहाँले आशिफ दाईलाई सुहाउला भनेपछि निर्देशकले ढुक्क भएर मलाई अफर गर्नुभएको रहेछ,’ आशिफले भने ।

निर्देशक सिमोसले पनि उक्त पात्रमा आशिफलाई देखेका रहेछन् । तर, आफ्नो सोचाई अरुसँग मिल्छ की मिल्दैन भनेर जाँच गरेको बताए । उनले भने,’हाम्रो साथीभाई र काम गर्ने साथीभाई उस्तै उस्तै छन् । त्यसैले मैले आशिफलाई अफर गर्नु अगाडि अरुबार कन्फर्म गरेको थिएँ । मैले काठमाडौँ बाहिर हुँदा नै फोनमार्फत क्यारेक्टरको बारेमा जानकारी दिएर फिल्म गर्नुपर्छ भनेको थिएँ ।’

फिल्म अफर भएपछि आशिफले उत्साहित भएको स्मरण गरे । विशेषत फिल्ममा सौगात मल्ल छन् भन्ने कुराले उनलाई उत्साहित बनाएको थियो । उनी टेलिभिजन भन्दा बाहिर फिल्ममा आफ्नो कमाल देखाउन चाहन्थे ।

‘म सबैसँग सहज रुपमा खुल्न सक्दिन्, तर एउटा साथी सर्कल छ, जहाँ म खुल्न सक्छु । त्यहि सर्कलमा निर्देशक सिमोश हुनहुन्छ । उहाँले त्यसकारण पनि मलाई ‘जन्ते बाख्रो’ को भूमिका अफर गरेको हुनसक्छ । यो मेरो एउटा फरक रुप दर्शकसम्म आउँदैछ,’ आशिफले भने ।

उनले फिल्मको ट्रेलरमा बोकेर हिड्ने डोरी, सिनेमामा देखिने बाख्रो पनि कथासँग जोडिएको छ । टेलिभिजन र म्युजिक भिडियोमा लामो समय काम गरिसकेका आशिफ अब फिल्ममा आफूलाई भिन्न भिन्न तरिकाले प्रस्तुत गर्न चाहन्छन् । यसपटक सौगातसँग काम गर्दा उनले अभिनयका नयाँ आयामसँग परिचित हुने मौका पाएँ ।

‘मेरो पात्रको भावनालाई बाहिर ल्याउन पनि सौगातले मदत गरेका छन् । उनले सिकाएको शैलीले हामीलाई पात्रलाई जीवन्त बनाउन मदत गरेको छ । यो सिनेमाको काम गराई मेरा लागि अभिनय शिक्षा जस्तो पनि भयो । म सौगातबाट अभिनयमा शिक्षित भएको महसूस गरेको छु । उनको प्रभाव मेरो आगामी काममा देखिन्छ,’ उनले भने ।

उनी फिल्मको सफलताको श्रेय सबैले पाउने भएकाले ढुक्क छन् । फिल्मलाई दर्शकले रुचाउँदा आफ्नो पात्र पनि रोजाईमा पर्ने आशिफ बताउँछन् । सिनेमाको शिर्षकले नै नेपाली परम्परालाई व्यक्त गर्ने भएकाले ‘जन्ते बाख्रो’ मार्फत नयाँ पुस्ता जिज्ञाशु हुने विश्वास निर्देशक सिमोशले व्यक्त गरे ।

‘हामीले शिर्षक ‘जन्ते बाख्रो’ राखेपछि यो विषयमा नयाँ पुस्ताले सोधखोज गरेको पाएका छौँ । सिनेमा हेर्नु हुन्छ वा हेर्नु हुन्न् त्यो अहिले भन्न सकिन्न तर हाम्रो एउटा परम्पराका बारेमा अवगत हुनुहुन्छ भन्ने लागेको छ । हाम्रो एउटा आशय नै नयाँ पुस्तालाई संस्कृति र परम्परालाई बुझाउँदै मनोरञ्जन दिनु हो’, निर्देशक सिमोशले भने ।

फिल्ममा आशिफसँगै सौगात मल्ल, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको अभिनय रहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *