जन्ते बाख्रोबाट खुशी साैगात
काठमाडौं । अभिनेता सौगात मल्ल अभिनयमा अब्बल कलाकार हुन् । उनले पात्रलाई बाच्ने गरेको प्रतिक्रिया दर्शकबाट पाउने गरेका छन् । जुनसुकै भूमिकामा आफूलाई प्रस्तुत गर्न सक्ने अभिनय मल्लले समय पाउँदा आफूले क्यारेक्टरलाई नयाँ गर्न सक्ने बताएका छन् ।
‘एउटा फिल्ममा काम गरिसकेपछि केही समय पाईयो भने म नयाँ क्यारेक्टर निर्माण गर्न सक्छु । किनकि एउटामा काम गरिरहदा लगत्तै अर्कोमा काम गर्न सहज हुँदैन । ‘जन्ते बाख्रो’ मा मैले आफ्नो क्यारेक्टरलाई बुझ्न र त्यसलाई निर्माण गर्न मौका पाएँ । लेखकसँग छलफल गरेर क्यारेक्टरलाई निर्माण गर्न पाएकाले यो फरक देखिएको छ’, अभिनेता मल्लले भने ।
उनले लेखिएको पात्रले भोग्ने कथा, रहने परिवेशले आफूलाई तयार गर्ने गरेका छन् । यद्यपि, कुनै पात्र तयार गर्दै गर्दा उनको व्यतिगत भोगाई पनि त्यहाँ मिसिन्छ । निर्देशकले देख्ने र अभिनेता मल्लले बुझ्ने पात्र मिलेपछि त्यो पर्दामार्फत दर्शकसम्म पुग्ने गरेको छ । उनलाई निर्देशकको पछिल्लो कामले पनि खासै फरक पार्दैन, किनकि हरेक नयाँ कामको छुटै प्रतिफल आउने उनले बुझेका छन् ।
‘मलाई निर्देशकको पछिल्लो काम भन्दा पनि उसले म कहाँ ल्याएको विषय र त्यसको प्रस्तुतीकरणले आकर्षण गर्छ । पछिल्लो काम विग्रिएको छ भने आउँदो काम राम्रो गर्न सक्दैन भन्ने मलाई लाग्दैन । विश्वभर आश नगरिएकाले निर्देशक, अभिनेताले गज्जब काम गरेका छन् । र, म कहाँ प्रस्ताव आएका फिल्मबाट नै मैले छनौट गर्ने हो । कहिले काही फलानो फिल्म किन नगरेको भन्ने पनि सुन्छु । तर, म कहाँ आएका र मलाई राम्रो बन्छ भन्ने लागेका फिल्ममै मैले काम गर्ने हो’, अभिनेता मल्लले भने ।
उनले फिल् ‘जन्ते बाख्रो’ ले आफ्नो ग्रामिण जीवनलाई स्मरण गराएको बताए । विशेषत गाउँमा हुँदा उनले भोज भतेरमा सहभागी जनाएको किस्सा सुनाए ।
‘गाउँमा हुँदा यस्ता भोज भतेरमा काम गर्न पुगिन्थ्यो । किनकि त्यहाँ सबै गाउँले मिलेर नै विवाह लगायतका गतिविधीमा सघाउने प्रचलन छ । मसहितको एउटा साथीको टिमले यस्ता विवाहमा धेरै पटक भोज तयार गरेका छौँ । यो प्रक्रियामा गाउँमा रहेका सबै सहभागी हुनुभएको छ’, उनले भने ।
अभिनेता मल्लले को–स्टारद्वय आशिफ शाह र गरिमा शर्मासँग पहिलोपटक काम गरेका हुन् । यद्यपि, आशिफसँग भने ‘कागवेनी’ मा अभिनय गर्ने समयमै सौगात परिचित थिए । उनीहरूले सँगै सहकार्य गर्ने छलफल पनि भएको थियो, तर त्यो छलफलले पूर्णता पाएन ।
‘मैले पहिला देखि नै चिनेकाले पनि काम गर्न सहज भयो । साथै, छायांकन अगाडि हामीले पटकथामा छलफल गर्दा पनि एक अर्कासँग जानकार भयौँ । सोही कारण तपाइँले सार्वजनिक प्रचार सामग्रीमा हाम्रो ‘कम्फर्ट’ लाई देख्नुभएको होला । यो फिल्म रमाइलो बनेको छ, हामीले छायांकनमा पनि रमाइलो गरेका थियौँ । सोही कुरा फिल्मका दृश्यमा विम्वित भएको छ’, अभिनेता मल्लले भने ।
फिल्ममा अभिनेता मल्लसँगै आशिफ शाह, गरिमा पन्त, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको अभिनय रहेको छ । सन्तोष गौतमले निर्माण गरेको फिल्ममा सिमोस सुनुवारको निर्देशन छ ।
Facebook Comment