द ब्ल्यू लाइटको मुहुर्त
काठमाडौं । फिल्म ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा आज निर्माणपक्षले शुभमुहूर्त गरेको हो । शुभमुहूर्तमा फिल्मका मुख्य कलाकार र प्राविधिकको उपस्थिति रहेको थियो । शुभमुहूर्तसँगै फिल्मको छायांकन यही बिहिबारबाट सुरु हुनेछ ।
काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानमा खिचिने यस फिल्मको छायाकंन तालिका २० दिन तय गरिएको छ । फिल्ममा बलिराम चौहानको डेब्यू निर्देशन रहनेछ । चौहान फिल्म ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक हुन् ।
फिल्मको थिम पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ । थिम पोस्टरमा निलो रङले घेरिएको वातावरणबीच एक बालिका उभिएकी छन् । पोस्टरमा बालिकाको कम्मरदेखि माथिसम्मको भाग देखाइएको छ । उनको जुङरुङ्ग कपाल तथा विछिप्त मुद्राबाट चलचित्रको रहस्यमय तथा मनोवैज्ञानिक पृष्ठभूमि झल्किन्छ ।
फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन् । फिल्ममा बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने फिल्म स्काइफल पिक्चर्सको प्रस्तुतिमा निर्माण हुन लागेको हो । फिल्मको को–प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन् । फिल्मको छायांकन नरेन्द्र मैनालीले गर्नेछन् ।
आकाश उखेडा मुख्य सहायक निर्देशक रहेको फिल्ममा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक छन् । फिल्म सन् २०२५ मै रिलिज हुने निर्माण पक्षले जनाएको छ ।
Facebook Comment