विवाद कारण जनै हराएको बाहुनः सम्बन्धका धागाहरुको नाम परिवर्तन
काठमाडौं । फिल्म ‘जनै हराएको बाहुनः सम्बन्धका धागाहरू’को नाम परिवर्तन भएको छ । अब यो फिल्मको नाम ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ रहने भएको छ ।
हिन्दु धर्मसँग सम्बन्धित केही व्यक्ति तथा संस्थाले नाममा चासो देखाएपछि विवादमा फस्न नचाहेकाले बाहुनको ठाउँमा मान्छे राखिएको निर्माणपक्षले जनाएको छ ।
भदौ ६ गते रिलिज हुने यस फिल्मको नाम परिवर्तन गर्दै निर्माणपक्षले मुख्य पात्रको क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा मुख्य पात्र विजय बराल छन् ।
रातो सटमा दुईवटा झोला बोकेर घरबाट निस्किन लागेको जस्तो देखिन्छ । आमाले रातो टीका लगाइदिएर घरबाट निस्किने बेलामा आर्शिवाद दिएको जस्तो देखिएको छ । पोस्टरको कलरले बिहानको समय रहेको संकेत गरेको छ ।
उनको निन्याउरो अनुहारले घरपरिवार र आफन्तसँग छुट्नुपर्दाको पीडा देखाउँछ । पोस्टरले गाउँको व्यक्तिले गाउँ छोडेर सहर पुगेर गरेको संघर्ष बताउने संकेत गरेको छ ।
निर्माणपक्षले विजयलाई ‘एपिक नेचुरल स्टार’को ट्याग दिएको हो । छायांकन सकिएको यो फिल्म अहिले पोस्टप्रोडक्सनको टेबुलमा छ । फिल्म छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा गरिएको थियो ।
फिल्ममा हिमाल न्यौपानेको डेब्यू निर्देशन छ । फिल्मको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लागायतको अभिनय रहेको छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, नारायण तिमिसिना र चुडामणि सिवाकोटी रहेका छन् ।
Facebook Comment