ऋण तिर्नुपर्ने बाध्यताबारे पूर्वअर्थमन्त्रीका तर्क
काठमाडौं— पूर्वअर्थमन्त्री एवम् प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले आन्तरिक ऋण नलिइकन ५ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर हासिल गर्न सम्भव नरहेको बताएका छन् ।
काठमाडौंमा आइतबार आयोजित प्रि–बजेट छलफल कार्यक्रममा पूर्वअर्थमन्त्री खतिवडाले ऋणको आकार बढे पनि त्यस्तो ऋण नलिई ६–७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न नसकिने बताए ।
आफू अर्थमन्त्री हुँदा आन्तरिक ऋणका लागि क्षेत्र तोकेको भन्दै उनले अब क्षेत्र मात्रै तोकेर नहुने बताउँदै परियोजना तोकेर आन्तरिक ऋण लिनुपर्ने उल्लेख गरे ।
खतिवडाका अनुसार भर्खरै सरकारले ल्याएको नीति तथा कार्यक्रमले सूचना प्रविधिलाई जोड दिएको छ । यसले उद्यमशीलताको माध्यमबाट आन्तरिक रोजगारी सिर्जना गरी आयआर्जनका अवसर वृद्धि गर्ने उनले बताए ।
मितव्ययिताका कुरा आउँदा वैदेशिक भ्रमणको कुरा आउने बताउँदै उनले त्यहाँभन्दा ठूलो खर्च सफ्टवेयरमा भइरहेको जिकिर गरेका छन् ।
सरकारी आयोगहरूले दिने प्रतिवेदनहरू कार्यान्वयन हुन नसकेको भन्दै प्रश्न उठिरहेका बेला पूर्वअर्थमन्त्री खतिवडाले हुबहु त्यस्ता प्रतिवेदन लागू हुन नसक्ने बताए । आर्थिक सुधार आयोग, खर्च पुनरावलोकन आयोगहरूको प्रतिवेदन चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने सरकारी तयारी रहेको खतिवडाको भनाइ छ ।
Facebook Comment