आवासीय चिकित्सक र सरकारबीच सहमति
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबीच भएको छलफलपछि आवासीय चिकित्सक र सरकारबीच शनिबार काठमाडौंमा सहमति भएको छ । सहमति भएसँगै आवासीय चिकित्सकहरुको आन्दोलन स्थगित भएको छ ।
स्वास्थ्य मन्त्रालयसँग आवासीय चिकित्सकहरूले चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यान्वयन गर्ने, म्याचिङका चिकित्सकहरुका लागि यथाशिघ्र सुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयहरुमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्नसक्ने कुरा स्वास्थ्य मन्त्रालयबाट र नसकेका कुरालाई निर्देशन गरेर पठाउने सम्झौता भएसँगै आवासीय चिकित्सकहरु आन्दोलन छोड्न सहमत भएका हुन् ।
सहमतिपछि मन्त्री पौडेलले आवासीय चिकित्सकहरूका मागहरू पूरा गर्न स्वास्थ्य मन्त्रालय तयार रहेको र त्यसको कार्यान्वयन गर्ने सहमति भएको बताए ।
आवासीय चिकित्सकहरुले निर्वाह भत्ता आठौं तह सरह हुनुपर्ने, आवासीय चिकित्सकहरुको सुत्केरी बिदा, बिरामी बिदा, ड्युटी आवरको कुरा पनि उठाएको उनले बताए ।
अहिले आन्दोलनपछि निजी मेडिकल कलेजबाट पनि आठौं तह सरह भत्ता दिने प्रतिवद्धता आएको र विभिन्न कलेजमा आवासीय चिकित्सकहरु काम गर्न फर्किसकेको उनले जनाए ।
Facebook Comment