के घर के डेराः घर नं. २ ट्रेलरमा उच्च दर्शक
काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेराः घर नं २’को ट्रेलरले दर्शकको साथ पाएको छ । दर्शकले ट्रेलर मन पराउँदा युट्युबमा उच्च भ्युज पाएको छ ।
२३ घण्टामा ट्रेलरलाई १० लाख भ्युज प्राप्त भएको छ । साढे तीन सय कमेन्ट र ११ हजार लाइक आएको छ । शुक्रबार सार्वजनिक ट्रेलरले २४ घण्टा नपुगै युट्युबमा १० लाख भ्युज कटाएको हो ।
‘हामीलाई ट्रेलरमार्फत जसरी दर्शकले माया दर्शाउनु भएको छ, यस्तै माया हलमा फिल्मले पनि पाउने अपेक्षा गरेका छौँ,’ निर्देशक खनालले भने । फिल्म राम्रो बनेको र राम्रो टिमले मेहनत गरेकाले फिल्मले दर्शकलाई निराश नबनाउने उनको भनाइ छ ।
शुक्रबार रिलिज भएको ट्रेलरमा घर र डेराबीचको अन्तर छ । घर मोहले निम्त्याएको समस्या, घर नै सबैथोक हो र प्रतिष्ठाको एकमात्र मुख्य प्रतीक हो भन्ने अहिलेको यथार्थलाई देखाइएको छ ।
घर जोगाउन र जोड्न युवा पुस्ताले गरेको संघर्ष र त्यसले सिर्जना गरिरहेको नकारात्मक पक्षलाई ट्रेलरले देखाएको छ । घर मोहले बिग्रिएको आर्थिक कारोबार र परिवारलाई ट्रेलरमा प्रष्टसँग देखाएको ट्रेलरलाई दर्शकले साथ दिएका हुन् ।
‘पशुपतिप्रसाद’, ‘आमा’, ‘चिसो मान्छे’जस्ता सफल सोसल ड्रामामा फिल्म दिएका निर्देशक खनालको फिल्म ‘के घर के डेरा स् घर नं २’ जेठ २ गतेदेखि प्रदर्शनमा आउँदै छ ।
एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा खगेन्द्र लामिछाने, आर्यन सिग्देल, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, सज्जन श्रेष्ठ, गौरव विष्ट, शंकर आचार्य, रुविना घिमिरे (बाल कलाकार) लगायतको अभिनय छ ।
फिल्मको निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।
Facebook Comment