विपक्षीको कडा प्रतिवाद गर्न एमाले सांसदलाई ओलीको निर्देशन

काठमाडौं— नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सदनमा गलत बोल्नेलाई तत्काल प्रतिवाद गर्न सांसदहरुलाई निर्देशन दिएका छन् ।

एमाले संसदीय दलको बैठकमा ओलीले विपक्षीले विरोध गर्न अनेकन बहान झिक्ने भएकाले गलत तर्क गरे तत्काल प्रतिवाद गर्नुपर्ने बताए ।

उनले विपक्षीको काम नै विरोध गर्ने भएको बताउँदै सत्य भए पनि विरोध गर्ने, असत्य पनि विरोध गर्ने काम विपक्षीको भएको दाबी गरे । नीति तथा कार्यक्रमको एउटा पनि बुँदालाई उनीहरूले (विपक्षी) राम्रो नभनेको दाबी गर्दै प्रधानमन्त्री ओलीले सदनमा कसैले गलत बोले भने त्यसलाई रेकर्डबाट हटाउन नभन्ने धारणा राखे ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम सही छ भनी ढुक्कका साथ भन्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् ।

‘केही गलत कुरा बोल्यो कि रेकर्डबाट हटाउने माग गर्न थालिहाल्छन् त्यो गलत हो, गलत बोलेको कुरा पनि रेकर्डमा रहनुपर्छ किनभने पछिको पुस्ताले पनि थाहा पाओस् कि हाम्रा पुर्खाले के बोलेको थिए’ उनले भने । प्रधानमन्त्री ओलीले संसदमा आफ्नो कुरा अध्ययन गरेर प्रस्ट रुपमा कुरा राख्न समेत सांसदहरूलाई आग्रह गरे ।

एमालेको संसदीय दल आकारको हिसाबले मात्र ठुलो होइन, विचार र मुद्दाको हिसाबले समेत ठुलो रहेको बताउँदै उनले संसदमा बोल्नका लागि बुँदाहरू लेखेर जान पनि आग्रह गरे । ‘बुँदा लिएर गएमा कुनै कुरा छुट्दैन, ती बुँदालाई मज्जाले व्याख्या गर्न सजिलो हुन्छ’ उनले भने, ‘संसदमा तत्काल उठ्ने गलत कुरालाई प्रतिवाद गर्न पनि तयारीका साथ बोल्नुपर्छ ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *