निर्णय नमान्ने मेडिकल कलेजको सम्बन्धन नै खारेज गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी
काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयको आठौं तह सरह आवासीय चिकित्सकलाई भत्ता नदिने निजी मेडिकल कलेजहरूलाई मन्त्रालयबाट दिइने कुनै पनि सुविधा नदिने चेतावनी दिएका छन् । शुक्रबार मन्त्रालयमा चिकित्सक सङ्घसँग उनीहरूका माग सम्बन्धमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले यस्तो चेतावनी दिएका हुन् ।
मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगको माघ २५ गतेको बैठकले आवासीय चिकित्सकहरूलाई निर्वाह भत्ता स्वरूप स्वास्थ्य मन्त्रालयको आठौं तह सरह भत्ता दिने भनेर निर्णय गरेको र उक्त निर्णय मान्नैपर्ने बताए ।
मन्त्री पौडेलले भने, ‘आठौं सरह निर्वाह भत्ता नदिने हो स्वास्थ्य मन्त्रालय दिइने कुनै पनि सुविधा दिइने छैन । यहाँहरूलाई निर्वाह भत्ता स्वरूप दिइने आठौं सरहको कुनै माया दयाले दिइएको होइन । तपाईंहरूको कामले दिइएको हो । हप्तामा ७२ घण्टा काम गरे पुग्ने स्थिति बनाउनुपर्छ । किरिया बिदा यहाँहरूलाई उपलब्ध गराइनुपर्छ । सरकारी बिदा दिँदा यहाँहरूको एकेडेमिक क्यालेन्डर प्रभावित हुन्छ भन्नेकुरा आएको छ । त्यसलाई प्रभावित नहुने गरी व्यवस्थित हुनुपर्छ । यो सबै कुरामा हामी सकारात्मक छौँ ।’
उनले चिकित्सा शिक्षा आयोगले गरेको यो निर्णय कार्यान्वयन गर्नैपर्ने बताए । यो निर्णय नमान्ने हो भने राज्यसँगका कुनै पनि सम्बन्ध रहने स्थिति नहुने जिकिर गरे । सम्बन्धन नै पनि खारेज हुने स्थिति आउने चेतावनी दिए । हप्तामा ७२ घण्टा काम गरे पुग्ने स्थिति बनाउन, किरिया बिदा, सरकारी बिदा दिने कुराको व्यवस्थापन गर्न पनि मन्त्रालय सकारात्मक रहेको उनको भनाइ छ ।
‘चिकित्सा शिक्षा आयोगको माघ २५ गतेको बैठकले आवासीय चिकित्सकहरूलाई निर्वाह भत्ता स्वरूप स्वास्थ्य मन्त्रालयको आठौं तह सरह भत्ता दिने भनेर निर्णय गरेको छ । त्यसको रकम ४८ हजार ७ सय ३७ रहेकाे छ । यो चिकित्सा शिक्षा आयोगले गरेको निर्णय हो । चिकित्सा शिक्षा आयोगले गरेको यो निर्णय कार्यान्वयन गर्नैपर्छ,’ मन्त्री पौडेलले भने, ‘कसैले नमान्ने यो अहिलेका लागि हो । अनन्त नमान्न मिल्दै मिल्दैन । नमानिने हो भने राज्यसँगका कुनै पनि सम्बन्ध रहने स्थिति हुँदैन । सबै तोडिन्छन् । सम्बन्धन नै पनि खारेज हुने स्थिति हुन्छ । त्यसैले उहाँहरूले यस्तो गर्नुहुन्छ भन्ने मलाई लाग्दैन ।’
मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगले गरेको निर्णय स्वास्थ्य मन्त्रालयले कार्यान्वयन गर्ने बताए । मन्त्रालयसँग सम्बन्धित सबैलाई कार्यान्वयन गर्न निर्देशन दिने उनले बताएका छन् ।
Facebook Comment