काठमाडौं आउन उत्साहित नोरा
काठमाडौं । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही जेष्ठ ३ गते नेपाल आउने भएकी छन् । शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ह्युुमन रेस्पेक्ट नेपालको सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेही नेपाल आउन लागेकी हुन् ।
कार्यक्रम आयोजक वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिका अध्यक्ष देव मगरले मनोरञ्जनमार्फत सामाजिक कार्यलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको बताए । ‘नेपालमा अभिनेत्री फतेहीको माग देखेर हामीले कार्यक्रमका लागि गरेको अनुरोधमा उहाँ सहमत हुनुभएको हो । उहाँसँगै नेपाली कलाकारले पनि सम्मानित रूपमा स्टेजमा आफूलाई प्रमाणित गर्नुहुनेछ’, उनले भने ।
कार्यक्रममा नेपाली कलाकारहरुमा गायक दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इन्द्रकला राई, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई, प्रशेस पाण्डेलगायतले प्रस्तुती दिनुहुने आयोजक तथा इभेन्ट म्यानेजर मनिष कार्कीले बताए ।
कलाकारका तर्फबाट नृत्याङ्गना मगरले आफूले सम्पूर्ण तयारी गरिसकेको जानकारी दिइन् । ‘अभिनेत्री फतेही अहिले विश्वभर चर्चामा हुनुहुन्छ, उहाँसँग कार्यक्रम गर्न पाउनु हाम्रो लागि राम्रो हो । नेपालमा यसरी कार्यक्रम हुँदा यसले पर्यटन प्रवर्द्धनमा पनि सघाउँछ भन्ने मलाई लागेको छ । यस्ता कार्यक्रमले हाम्रो बारेमा विश्वलाई जानकारी गराउँछ’, उनले भनिन् ।
अभिनेत्री नोरा फतेहीले आफु नेपाल आउन र नेपालीलाई भेट्न उत्साहित रहेको बताएकी छन् । उनले एक श्रव्यदृश्य सन्देशमार्फत आफू पहिलो पटक नेपाल आउने र यहाँबाट अहिलेसम्म प्राप्त गरिरहेको मायाका लागि धन्यवाद व्यक्त गर्दै आफ्नो प्रस्तुति दिने बताएकी छन् ।
‘म काठमाडौँ आउन उत्साहित छु, यो मेरो पहिलो भ्रमण हुनेछ, सामाजिक कार्यका यो कार्यक्रमलाई सफल बनाउन सबैलाई आग्रह गर्दछु’, अभिनेत्री फतेहीले श्रव्यदृश्यमा भनेकी छन् । इभेन्टको व्यवस्थापन मनु मिडिया प्रालिले गर्नेछ । कार्यक्रमका लागि भारतको मुम्बईबाट अभिनेत्री फतेहीसहित २० बढी नृत्याङ्गना प्रस्तुति दिन नेपाल आउने आयोजकले जनाइएको छ ।
जेष्ठ ३ को इभेन्टको लागि खल्ती एपमा गएर २, ४, ७ र १६ हजार दरको टिकट काट्न सकिनेछ । यस्तै कार्यक्रममा नोरा फतेही र दुर्गेश ‘दुश्मन हेरेको हेरै’ गीतमा सँगै स्टेज सेयर गर्ने भएको हुँदा इभेन्ट अझ आकर्षक हुने उपलब्ध कार्कीले जानकारी दिए । ओसिन सिटौलाले सञ्चालन गर्ने कार्यक्रममा उनले ३ बजेदेखि नै कार्यक्रममा सहभागीका लागि गेट खुल्ला गरिने बताए ।
अभिनेत्री फतेहीको ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’ लगायतका गीत भारतसँगै नेपालमा पनि लोकप्रिय छन् ।
Facebook Comment