रामानुजाचार्य जयन्ती मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पञ्चमीका दिन मनाइने जगद्गुरू रामानुजाचार्य जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

रामानुजाचार्य विशिष्टाद्वैत वेदान्तका प्रवर्तक थिए । उनी श्रीवैष्णव थिए । उनको भक्ति परम्परामा धेरै प्रभाव रहेको छ । वैष्णव आचार्यहरूमा प्रमुख रामानुजाचार्यको शिष्य परम्परामा नै रामानन्द भएका हुन् जसका शिष्य सन्त कबीर र सूरदास थिए । तद्अतिरिक्त कुलशेखर आलवार रामानुजका एक महत्त्वपूर्ण शिष्य थिए । रामानुजले वेदान्त दर्शनमा आधारित आफ्नो नयाँ दर्शन विशिष्टाद्वैत वेदान्त लेखेका थिए ।

सन् १०१७ मा दक्षिण भारतको तमिलनाडु राज्यको पेरम्बदुरू भन्ने ठाउँको तिरूकुदुरू भन्ने गाउँमा उनको जन्म भएको थियो । उनी विशिष्टाद्वैत वेदान्तका प्रवर्तक तथा हिन्दू धर्मअन्तर्गत श्रीसम्प्रदायका आचार्य थिए । त्यसबेला जैन धर्म र बौद्ध धर्मको प्रचारका कारण वैष्णव सम्प्रदाय सङ्कटग्रस्त अवस्थामा थियो । रामानुजले त्यसको सफलतापूर्वक प्रतिकार गरे ।

रामानुजले वेदान्त दर्शनमा आधारित आफ्नो नयाँ दर्शन विशिष्टाद्वैत वेदान्त लेखेका थिए । रामानुजाचार्यले वेदान्तबाहेक सातौँ, दशौँ शताब्दीका रहस्यवादी र भक्तिमार्गी आलवार सन्तसित भक्तिको दर्शनलाई तथा दक्षिणको पञ्चरात्र परम्परालाई आफ्ना विचारको आधार बनाउनुभएको पण्डित बालमुकुन्द देवकोटा बताउँछन् ।

रामानुजले बाल्यकालको शिक्षा काञ्चीपुरम्मा प्रकाशराज नामक प्रखर विद्वान् वैदिक गुरूद्वारा वैदिक शिक्षा प्राप्त गरेका थिए । पछि उनी आलवन्दार यामुनाचार्यको मुख्य शिष्य भए । रामानुजले गुरूको इच्छाअनुसार ब्रह्मसूत्र, विष्णुसहस्रनाम र दिव्यप्रबन्धको टिप्पणी (व्याख्या) गर्ने सङ्कल्प लिएका थिए । हिन्दू धर्मको क्रमअनुसार उनले गृहस्थ आश्रम त्यागेर श्रीरङ्गम रहेका यतीराज नामक सन्यासीसँग सन्यास आश्रमको दीक्षा प्राप्त गरी सन्यासी भएका हुन् ।

यसपछि उनको नाम यतीराज पनि रहन गयो । उनले मैसूर नामक स्थान रहेको श्रीरङ्गम छोडेर शालिग्राम नाम गरेको ठाउँमा गएर १२ वर्षसम्म श्रीसम्प्रदायको प्रचार गरेका थिए । वैष्णव धर्मको प्रचारका लागि समग्र भारत हुँदै नेपालको मुक्तिनाथसम्म उनी आएका थिए । सन् ११३७ मा एक सय २० वर्षको उमेरमा उनी ब्रह्मलीन भए ।

रामानुजाचार्यले धेरै ग्रन्थको रचना गरेका छन् भने ब्रह्मसूत्रमाथि लेखिएका दुई मुख्य ग्रन्थ श्रीभाष्यम् र वेदान्त सङग्रह निकै लोकप्रिय छन् । रामानुजाचार्यको दर्शनमा सत्ता अथवा परमसत्को सम्बन्धमा तीन स्तर मानिएको छ । ब्रह्म अर्थात् ईश्वर, चित् अर्थात् तत्व र अचित् अर्थात् प्रकृति तत्व । वस्तुतः यी चित् अर्थात् आत्म तत्व तथा अचित् अर्थात् प्रकृति तत्व ब्रह्म अथवा ईश्वरदेखि भिन्न होइन । यी विशिष्ट रूपले ब्रह्म (ईश्वर)को नै दुई स्वरूप हो यस्तै ब्रह्म अथवा ईश्वरमा नै आधारित छ । यसलाई नै रामनुजाचार्यको विशिष्टाद्वैतको सिद्धान्त भनिने उनको भनाइ छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *