दलका प्रमुख सचेतकसँग सभामुखको छलफल, गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने विपक्षको अडान

काठमाडौं— सदनको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका छन्। सभामुखको कार्यकक्ष सिंहदरबारमा शुक्रबार दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग सभामुखले छलफल गरेका हुन्।

बैठकमा बजेटमाथिको छलफल र आगामी क्यालेन्डर बनाउने विषयमा छलफल भएको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए। उनले बैठकमा सदनको अवरोध हटाउनबारे ठोस छलफल नभएको बताए।

प्रमुख सचेतक घिमिरेले बजेट प्रस्तुतमा विपक्ष दलहरूले सहजीकरण गरेको भन्दै पारित गर्नु पनि संवैधानिक दायित्व भएकाले विपक्ष दलहरूले सहयोग गर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘हिजो बजेट प्रस्तुत गर्नको लागि उहाँहरूले सहजीकरण गर्नुभयो। जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक दायित्व थियो। संवैधानिक दायित्व पूरा गर्ने कुरामा उहाँहरूले जिम्मेवारी बोध गर्नुभयो। प्रस्तुत गर्नुमात्रै होइन पारित गर्नुपर्ने संवैधानिक दायित्वभित्र पर्छ। त्यो कुरा उहाँहरूले बोध गर्नुहुन्छ भन्ने विश्वास गरेका छौँ।’

प्रमुख सचेतक घिमिरेले बजेटमाथिको छलफललाई अगाडि बढाउन विपक्ष दलहरूले वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरे।

तर विपक्ष दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म सदन अगाडि बढाउन नदिने अडान राखेका छन्।

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूका माग पूरा नहुँदासम्म सदन चल्न नदिने बैठकमा आफ्नो कुरा राखेको बताए। उनले विपक्षका माग पुरा नहुँदासम्म संसद्को अवरोध जारी रहने जानकारी गराएको बताए।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्री लेखकको राजीनामा र छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने अडान राखेको बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *