भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन: गृहमन्त्री
काठमाडौं— गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। आज संघीय संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै उनले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता रहेको भन्ने कुरा असत्य र बेठीक भएको बताए।
उनले भने, ‘भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छ भन्ने असत्य र बेठीक कुरा हो। यसमा मेरो कुनै संलग्नता छैन। मलाई मेरा विरुद्धमा नियोजित र षड्यन्त्रमूलक ढङ्गले आक्रमण गरिएको छ। यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित छ। यो क्रम जारी छ।’
गृहमन्त्री लेखकले आफ्नो राजनीतिक र व्यक्तिगत जीवन सार्वजनिक भएकाले सबैले सार्वजनिक रुपमै आफूलाई हेरिरहेको बताए।
विपक्ष दलहरूले संसदमा बोल्न नदिएपछि गृहमन्त्री लेखकले पत्रकार सम्मेलनको आयोजना गरेका हुन्। यसअघि आज बसेको प्रतिनिधिसभा बैठक विपक्ष दलहरूले अवरुद्ध गरेपछि बैठक आजका लागि स्थगित भएको छ।
Facebook Comment