विपक्षीसँग कुरा नमिलेपछि सूचना टाँसेर प्रतिनिधि सभा स्थगित

काठमाडौं– प्रमुख प्रतिपक्षी दलहरू गृहमन्त्री रमेश लेखकको राजीनामाबाट पछि नहटेपछि प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । संसद् सचिवालयले दोस्रोपल्ट सूचना टाँस गरेर संसद् बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित गरेको हो ।

सभामुख देवराज घिमिरेको सचिवालयले मंगलबारको बैठक सूचना टाँस गरेर बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको जनाएको छ । यसअघि सभामुख घिमिरेले बैठक सञ्चालनका लागि सहमति जुटाउन दलहरूसँग छलफल गरेका थिए ।

छलफलमा प्रतिपक्षी दलहरूले संसद् बैठकमा राखेको मागबाट पछि नहट्ने अडान यथावत राखेका थिए । उनीहरूले बिहान बसेको बैठकमा भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने र छानबिनका लागि उच्चस्तरीय समिति गठन हुनुपर्ने माग गरेका थिए ।

उक्त माग राखेर प्रतिपक्षीहरूले संसद्मा नाराबाजी गरेपछि सभामुख घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । निर्धारित आधा घण्टामा बैठक बस्ने वातावरण नबनेपछि संसद् सचिवालयले सूचना टाँस गरेर दिउँसो २ः३० बजेसम्मका लागि बैठक सारेको थियो ।

पहिलो पटक सूचना टाँस गरेर तोकिएकाे समयमा पनि बैठक बस्न नसकेपछि सभामुख घिमिरेले कार्यकक्षमा सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । उक्त छलफल निष्कर्षविहीन भएपछि दोस्रो पटक सूचना टाँस गरेर बैठक बुधबार बस्ने गरी स्थगित गरिएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *