युवाका प्रिय भण्डारी सचिवको उम्मेदवार
पोखरा— राष्ट्रिय युवा संघ नेपालको पोखरामा जारी दशौं महाधिवेशनमा कास्की निवासी मदन भण्डारीले सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । पर्यटन क्षेत्रसँग जोडिएका र युवा माझ लोकप्रिय भण्डारी सचिव पदका लागि बलियो दाबेदार मानिएका छन् ।
व्यवसायिक रुपमा सफल युवा पर्यटन व्यवसायी समेत रहेका भण्डारीले युवाहरुलाई देशभित्रै रोजगारीका अवसरहरू सिर्जना गर्ने उद्देश्यका साथ आफ्नो उम्मेदवारी अघि सारेका हुन् । उनी भन्छन्, ‘देशका युवालाई पर्यटन क्षेत्रमा लगानी गर्न र काम गर्न प्रेरित गर्न सके, वैदेशिक रोजगारतर्फको निर्भरता घटाउन सकिन्छ । पर्यटन क्षेत्रमा रहेको सम्भावनालाई सदुपयोग गर्दै स्वदेशमै अवसर सिर्जना गर्नु मेरो प्राथमिकता हुनेछ ।’
भण्डारी विगतमा राष्ट्रिय युवा संघको विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आएका छन् । उनी नेकपा (एमाले) द्वारा गठित साइबर सर्कलको प्रमुखको रूपमा पनि काम गरिसकेका छन् । संगठनप्रति निष्ठावान, विषयगत जानकारीमा दख्खल राख्ने र नेतृत्व क्षमतामा निपूर्ण भण्डारीको छवि एक प्रतिबद्ध युवा नेताको रूपमा स्थापित छन् ।
भण्डारीको नेतृत्वमा भएका अघिल्ला कार्यक्रमहरू सफल र प्रभावशाली छन् । उनले युवालाई डिजिटल सशक्तीकरण, उद्यमशीलता र आत्मनिर्भरतातर्फ उन्मुख गराउने थुप्रै अभियान सञ्चालन गरेका थिए । हालसम्म पनि उनले पर्यटनको माध्यमबाट युवालाई स्वरोजगार बन्न प्रेरित गर्दै आएका छन् ।
सचिव पदमा निर्वाचित भए उनले राष्ट्रिय युवा संघलाई थप सशक्त, नीतिगत रुपमा प्रभावकारी, र युवामैत्री बनाउने योजना अघि सारेका छन् ।
उनले संगठनको केन्द्रीय संरचना र स्थानीय तहसम्मको समन्वयलाई सुदृढ गर्दै देशभरि युवालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउने प्रतिबद्धता जनाएका छन् । हाल पोखरामा जारी महाधिवेशनमा देशभरिबाट हजारौं प्रतिनिधिहरूको सहभागिता छ ।
महाधिवेशनले संगठनको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।
Facebook Comment