विश्व पौडेललाई गभर्नर बनाउने सहमति

काठमाडौं— नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सहमति जुटेको छ ।

लामो रस्साकस्सीबीच मंगलबार बिहान उनीहरूबीच सहमति जुटेको हो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. विश्वनाथ पौडेल यसअघि गभर्नर सिफारिस समितिमा थिए । उनलाई कांग्रेसले गभर्नरका लागि अघि सारेपछि सिफारिस समितिबाट राजीनामा दिएका थिए ।

यसअघि सोमबार नै मन्त्रिपरिषद् बैठक राखेर गभर्नर नियुक्ति गर्ने चर्चा थियो । यद्यपि प्रधानमन्त्री ओली अस्वस्थ भएपछि मन्त्रिपरिषद् बैठक स्थगित गरिएको थियो ।

मन्त्रिपरिषद् बैठक स्थगित भएपछि नेपाली कांग्रेसका नेताहरू उपसभापति पूर्णबहादुर खड्काको निवासमा छलफलमा जुटेका थिए ।

छलफलमा गृहमन्त्री रमेश लेखक, महामन्त्री गगन थापा लगायत सहभागी थिए । कांग्रेस बैठकमा गृहमन्त्री लेखकले प्रधानमन्त्री बिरामी भएर नै सभापतिसँग छलफल नभएको र मन्त्रिपरिषद्को बैठक पनि नबसेको ब्रिफिङ गरेका थिए ।

बिहानै सभापति देउवा प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार गएका थिए । सो भेटमा देउवाले ओलीलाई भनेका थिए, ‘अब यो विषय धेरै नलम्ब्याऔं, मलाई पनि धेरै दबाब बढ्यो । बाहिर पनि हल्ला धेरै भयो ।’

त्यसपछि देउवाले अघि सारेका पौडेललाई नै गभर्नर बनाएर अघि बढ्न प्रधानमन्त्री ओली पनि सहमत भएको उच्च स्रोतले बतायो ।

बालुवाटार स्रोतले दिएको जानकारी अनुसार, प्रधानमन्त्री ओली कांग्रेसले नै अघि बढाएको मान्छेलाई गभर्नर नियुक्त गर्न सुरुदेखि नै प्रतिबद्ध थिए ।

आजै साँझ मन्त्रिपरिषद् बैठक पनि बोलाइएको छ । त्यसअघि सिफारिस समितिको बैठक बस्दैछ । सो समितिको बैठकले गभर्नरको रुपमा पौडेलको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ ।

समितिको सिफारिस अनुसार आजै बस्ने मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने बताइएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *