ओली-देउवा भेटमा गभर्नर नियुक्तिका विषयमा छलफल

काठमाडौं— प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

गभर्नर नियुक्तिको विषयलाई लिएर सत्ता गठबन्धनमा खटपट चलिरहेको चर्चा भइरहेपनि प्रधानमन्त्री निवास बालुवाटारमा दुई शीर्ष नेताबीच नियमित भेटघाट भइरहेको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली र देउवाको भेटवार्ता नियमित हो। सोमबार साँझ भेट गर्ने तय भएपनि प्रधानमन्त्री ओली अस्वस्थ भएपछि बैठक आजलाई सारिएको थियो। कांग्रेस र एमालेको सहमति अनुसार नै सरकार अगाडि बढिरहेकाले गठबन्धनभित्रको खटपटको चर्चा ‘बेमौसमी बाजा’ भएको नेताहरुको भनाई छ।

स्रोतका अनुसार उनीहरुबीच नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति, आगामी जेठ १५ गते सरकारले ल्याउने बजेट, सदनलाई प्रभावकारी बनाउन र समसायमिक राजनीतिक विषयमा छलफल भइरहेको छ। गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर रिक्त छ। सहमतिमै गभर्नर नियुक्ति हुने ओली र देउवाले बताउँदै आएका छन्।

आजको छलफलमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी छन्।

प्रधानमन्त्री ओलीलाई रुघाखोकी लागेपछि प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *