रविका कानून व्यवसायीले उठाए इजलासमाथि नै प्रश्न
काठमाडौं— पेशीबारे जानकारी नै नदिई मुद्दाको सुनुवाइ गरेको भन्दै रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेका कानुन व्यवसायीहरूले प्रश्न उठाएका छन् ।
उच्च अदालत पोखरामा आफूहरूलाई जानकारी नै नदिई १ जेठ (बिहीबार)का लागि पेशी तोकिएको भन्दै उनीहरूले प्रश्न उठाएका हुन् ।
कास्की जिल्ला अदालतले लामिछानेविरुद्ध चर्को धरौटी माग गरेको भन्दै आदेश बदरका लागि लामिछाने उच्च अदालत गएका थिए । यस्तै, सरकारी वकिलको कार्यालय र जाहेरवालाले पनि धरौटीमा छाड्ने आदेश खारेज गरी पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्चमा निवेदन दिएका थिए ।
त्यसमाथि बिहीबार सुनुवाइ राखिएको थियो । लामिछाने पक्षमा वकालत गरेका वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, रमण श्रेष्ठ र अधिवक्ता सुरेन्द्र थापाले थुनामा रहेको पक्षलाई मुद्दाबारे जानकारी नै नदिई सुनुवाइ गरेको भन्दै प्रश्न गरेका हुन् ।
आफ्नो पक्षलाई कुनै जानकारी नै नदिई मुद्दाको पेशी तोकेको भन्दै लामिछानेका कानुन व्यवसायीहरूले प्रश्न उठाएका हुन् । उनीहरूका कानुन व्यवसायीले सुनुवाइ स्थगित गर्न माग गरेको थिए ।
जाहेरवालाहरूको तर्फबाट बहस गरेका कानुन व्यवसायीले भने त्यसको प्रतिवाद गरेका थिए । यद्यपि मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र मिलनकुमार राईको इजलासमा शुक्रबार पनि सुनुवाइ चलिरहेको छ ।
Facebook Comment