मध्यपूर्वका देशहरुमा जार
काठमाडौं । नेपाल र भारतमा गत शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘जार’ले मध्यपूर्वका देशहरूमा बिहीबारबाट एकसाथ प्रदर्शन थालनी गरेको छ । निर्माण कम्पनी फेरि टेल पिक्चर्सले युएई, कतार र बहराइनमा बिहीबारबाट फिल्मको प्रदर्शनी शुभारम्भ भएको जानकारी गराएको छ ।
निर्देशक फुर्वाछिरिङ लामाले युएईका सहरहरू दुबई, अवुधावी, अज्मान र सारजाहका स्थानीय हलहरूमा फिल्म प्रदर्शनमा आएको बताए । यस्तै कतारको दोहा, बहराइनको मनामा लगायतका सहरहरूमा फिल्म एकसाथ प्रदर्शनीमा आएको हो ।
शुक्रवारबाट यो फिल्मको युएसए, युके, अष्ट्रेलिया, क्यानडा, साउथ अफ्रिकासँगै युरोपका विभिन्न देशहरूमा प्रदर्शनी तय भएको निर्देशक लामाले बताए । ‘नेपाल र भारतमा हाम्रो फिल्म हेर्ने जति पनि दर्शक हुनुहुन्छ उहाँहरूले र फिल्म समीक्षकहरूबाट प्राप्त प्रतिक्रियाले उत्साहित छौँ,’ लामाले भने, ‘डायस्पोरामा रहनुभएका नेपाली कला प्रेमीहरूबाट पनि सोही प्रकारको प्रेम र सद्भावको अपेक्षा छ।’
यो फिल्मले सार्वजनिक प्रदर्शनयता नेपाल र भारतमा उत्कृष्ट समीक्षा पाएको छ । वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित फिल्मले २ सय वर्ष पुरानो नेपाली समाजको वास्तविक कथा बोल्छ ।
फिल्ममा अभिनेता द्वय सौगात मल्ल, अनुपविक्रम शाही र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा प्रमुख अभिनयमा छन् ।
Facebook Comment