काठमाडौंमा दुई दिने नशामुक्ति शिविर चल्ने
काठमाडौं— पशुपति क्षेत्र परिसरमा दुई दिने ‘राष्ट्र सेवा शक्तिसाधना नशामुक्ति’ शिविर सञ्चालन हुने भएको छ । भगवती मानव कल्याण संगठनको आयोजनामा जेठ २ गते शुक्रबार र ३ गते शनिबार हुने शिविरमा सहभागी हुन सार्वजनिक आह्वान गरिएको शिविरका मिडिया संयोजक बीपी कोइरालाले जानकारी दिए ।
शुक्रबार शिविरको पहिलो दिन बिहान ७ बजेदेखि ९ बजेसम्म योग ध्यान साधना शिविर सञ्चालन हुनेछ । त्यस्तै दिउँसो २ बजेदेखि ५ बजे सम्म शक्तिपुत्रजी महाराजको चेतनात्मक प्रवचन हुनेछ । साँझ ४ बजेदेखि ५ बजेसम्म माँ दुर्गा भवानीको दिव्य आरती हुनेछ ।
कार्यक्रमको दोस्रो दिन जेठ ३ गते शनिबार बिहान ७ बजे गुरुदीक्षा कार्यक्रम हुनेछ । शिविरमा निःशुल्क रुपमा शक्तिजल वितरण गरिने भगवती मानव कल्याण संगठनकी अस्मिता दाहालले जानकारी दिइन ।
नशाको लत साथै मानसिक तनावबाट मुक्ति प्रदान गर्ने एवम् ठुलो बिमारीमा सहायक सिद्ध हुने शक्तिजल शिविरमा नि:शुल्क प्राप्त गर्न सकिने जनाइएको छ।
भगवती मानव कल्याण संगठन जनकल्याणकारी आध्यात्मिक संगठन हो । जसले समाजमा नशामुक्त, मांशाहार मुक्त, चरित्रवान्, चेतनावान्, परोपकारी एवम् पुरुषार्थी समाज निर्माणका साथ साथ जातिभेद, छुवाछुत जस्ता सामाजिक विकृति हटाएर मानवताको पथमा अघि बढाउने कार्य गर्दै आएको छ ।
संगठनले नशामुक्ति अभियान ‘नशामुक्त नेपाल–समृद्ध नेपाल’ अन्तर्गत ५ हजार भन्दा अधिक व्यक्तिहरुलाई नशामुक्त बनाइसकेको कोइरालाले बताए । गत साउनदेखि सुरु भएको देशव्यापी एक करोड वृक्षारोपण अभियान ‘एक वृक्ष–राष्ट्रको नाममा‘ नागरिक स्तरबाट सहयोग जारी रहेको उनको भनाइ छ ।
यस्तै संगठनले योग, ध्यान,–साधनाका माध्यमबाट समाजमा आध्यात्मिक वातावारण सृजना गर्न निःशुल्क रुपमा विविध कार्यक्रमको आयोजना गर्दै आएको छ ।
शिविरको आकर्षण ऋषिराज शक्तिपुत्रजी महाराज
शिविरमा ऋषिराज शक्तिपुत्रजी महाराजको सन्देशमूलक प्रवचन रहनेछ । नेपाल आएका ऋषिराज शक्तिपुत्रजी महाराजलाई काठमाडौंको त्रिभूवन विमानस्थलबाट बाजागाजासहित स्वागत गरिएको छ ।
महाराजको स्वागतमा त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलद्वारबाट पाशुपत क्षेत्रस्थित होटल आनन्दसम्म जयजयकार गरिएको थियो ।
स्वागत गर्दै भगवती मानव कल्याण संगठनका केन्द्रीय महासचिव एवम् सिद्धाश्रम रत्न अजय अवस्थीले एक कुण्डलिनी शक्ति जागृत सिद्ध योगिको पहिलो नेपाल आगमन साधना पथमा अघि बढ्न चाहने साधकका लागि महत्वपूर्ण साबित हुने बताइन ।
शक्तिपुत्रजी महाराज शिविरको दुइ दिन अघि साधनारत रहने एवम् शिविर पश्चात जेठ ४ गते व्यक्तिगत भेटघाट गर्ने कार्यक्रम छ ।
Facebook Comment