विनियोजन विधेयकले राष्ट्रिय यथार्थ समेटेन- केसी
काठमाडौं— नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा राष्ट्रिय यथार्थ झल्किन नसकेको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद केसीले मुलुकको वर्तमान आर्थिक संकट, चुनौती र जटिल परिस्थितिलाई सिद्धान्त र प्राथमिकताकमा समेटिएको नदेखिएको बताए।
विनियोजन विधेयकमार्फत सरकारले सबैलाई खुशी बनाउने प्रयास गरेको तर कोही पनि खुशी नदेखिएको सांसद केसीको भनाइ छ। उनले मुलुकको अर्थतन्त्र लगातार शिथिल बन्दै गएको भन्दै सरकार गम्भीर हुन जरुरी रहेको उल्लेख गरे। उनले यस्तो परिस्थितिमा बजेट तर्जुमा प्रक्रिया चुनौतीपूर्ण र अपजसपूर्ण हुने उल्लेख गर्दै ऋण र कुल गार्हस्थ्य उत्पादनबीच सन्तुलन कायम गर्न नसकिएकोतर्फ सरकारको ध्यानाकर्षण गराए।
सामान्य प्रशासन धान्न र ऋणको ब्याज तिर्नको लागि ऋण लिने गरिएको उल्लेख गर्दै यसतर्फ गम्भीर भएर सोच्न समेत अर्थमन्त्रीसँग आग्रह गरे।
Facebook Comment