चीनले बोइङमाथिको प्रतिबन्ध हटायो
काठमाडौं— अमेरिकासँगको व्यापार वार्तापछि चीनले अमेरिकी हवाईजहाज निर्माता बोइङमाथिको प्रतिबन्ध हटाएको छ । दुवै देशले व्यापार युद्धलाई रोक्दै अस्थायी रूपमा भन्सार शुल्कहरू घटाउन सहमति जनाएपछि चीनले बोइङमाथिको प्रतिबन्ध हटाएको ब्लूमबर्ग न्युजको रिपोर्टलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।
गएको महिना दुवै देशबीच व्यापार युद्ध चर्किँदै जाँदा एकअर्कालाई भारी शुल्क लगाएपछि चीनले घरेलु एअरलाइन्सहरूलाई नयाँ बोइङ विमान स्वीकार गर्न प्रतिबन्ध लगाएको थियो । तर आज भने चिनियाँ अधिकारीहरूले एअरलाइन्सहरूलाई अमेरिकी निर्मित विमानको अर्डर फेरि शुरू गर्न सक्छन् भन्न थालेका खबरमा उल्लेख छ ।
अमेरिका र चीनले हिजो ९० दिनका लागि भन्सार शुल्क घटाउने र वार्ता जारी राख्ने घोषणा गरेपछि यो समाचार आएको हो । हिजो अमेरिका र चीनले एकअर्काको देशबाट हुने आयातमा लगाएको भन्सार शुल्कमध्ये १ सय १५ प्रतिशत घटाउने सहमति गरेका थिए ।
यसअघि अमेरिकाले चीनबाट आयात हुने वस्तुमा १ सय ४५ प्रतिशत र चीनले अमेरिकाबाट आयात हुने वस्तुमा १ सय २५ प्रतिशत भन्सार शुल्क लगाउँदै आएका थिए । अब अमेरिकाले ३० प्रतिशत र चीनले १० प्रतिशत शुल्क लिने सहमति भएको छ ।
बोइङले सन् २०२५ मा चीनलाई झन्डै ५० वटा विमान आपूर्ति गर्ने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी केली ओर्टबर्गले गएको महिना बताएका थिए ।
Facebook Comment