मुग्लिन–पोखरा खण्ड विस्तार गरिँदै
दमौली (तनहुँ) । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डमा १७ पुल निर्माण भएका छन् । पूर्वी खण्डअन्तर्गत जामुनेबाट आँबुखैरेनीसम्म ‘प्रिकाष्ट’ प्रविधिबाट १७ पुल निर्माण भएका हुन् ।
चिनियाँ कम्युनिष्ट कन्स्ट्रक्सनले चीनबाट उपकरण ल्याएर प्रिकाष्ट प्रविधिबाट पुल निर्माण गरेको पूर्वी खण्डका सूचना अधिकारी एवं इञ्जिनियर विष्णु पाण्डेले जानकारी दिए । यहाँ सानाठूला गरी १७ वटा पुल निर्माण सम्पन्न भएका उनले बताए ।
मुग्लिन–पोखरा सडक आयोजनाअन्तर्गत व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन पुलमा ६९ प्रतिशत भौतिक र ५२ दशमलव ४३ प्रतिशत आर्थिक प्रगति भएको आयोजना कार्यालयले जनाएको छ ।
उक्त पुल निर्माणले गति लिएको बताउँदै पाण्डेले पुलमा छ वटा स्पान रहने जानकारी दिनुभयो । तीन सय १५ मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीले सन् २०२२ अगष्ट ११ मा रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो ।
पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल तीन सय ७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ ।
पूर्वी खण्डअन्तर्गत सडकको ८४ प्रतिशत भौतिक र ६५ प्रतिशत आर्थिक प्रगति भएको सूचना अधिकारी पाण्डेले जानकारी दिए । उनका अनुसार चार लेनतर्फ ३३ दशमलव ५६ र दुई लेनतर्फ तीन दशमलव दुई किलोमिटर दूरीमा अन्तिम कालोपत्र सकिएको छ । पाण्डेले भने, ‘हालसम्म कालोपत्र भएको खण्डलाई दुई लेनमा हिसाब गर्दा ७३ दशमलव ११ किमी कालोपत्र भएको छ ।’
पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । विसं २०२६ सालमा रेखाङ्कन भएको यस सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो ।
Facebook Comment