भारतमा जारको उच्च माग
काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जार’को भारतमा उच्च माग भएको छ । पहिलो चरणमा सिक्किम, दार्जिलिङ, नाम्ची, खार्साङ र कालिङपोङमा प्रदर्शनमा आएको यो फिल्मप्रति दर्शकको उच्च आकर्षण देखिएपछि सम्बन्धित शहरका मल्टिप्लेक्सहरूले शो थप गरेका छन् ।
सिलिगुडीस्थित सिटी सेन्टरमा अवस्थित आइनक्स हलले प्रदर्शनको पहिलो दिन नै निर्धारित शोजमा बढोत्तरी गरेको कार्यकारी निर्माता ज्योती क्षेत्रीले बताइन् । यस्तै दार्जीलिङमा पनि फिल्मको शोज थप भएको छ । ‘हाल प्रदर्शनमा आएका सबै शहरमा फिल्मको उच्च माग देखिएको छ, सम्बन्धित हलहरूले शो थपको लागि सम्पर्क गरिरहनु भएको छ’, क्षेत्रीले भनिन्, ‘दर्शकले फिल्मप्रति देखाउनु भएको प्रेमले उत्साहित छौं ।’
दोश्रो चरणमा नेपाली भाषीहरूको बाहुल्य रहेका शहरहरू मिरिक, आसाम, देहरादुन, धर्मशाला, दिल्ली, बैङ्गलोर, कोलकाता, हैदरावाद, गोरखपुरलगायतका ठाउँमा फिल्म प्रदर्शनको क्रममा रहेको क्षेत्रीले जानकारी दिइन् ।
नेपालमा पनि यो फिल्मलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । कलाकारसहितको निर्माण टिम शुक्रबार काठमाडौंका विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिएको छ । रञ्जना सिनेमाज्, क्यूएफएक्स छायाँ सेन्टर, क्यूएफएक्स लाविङ मल लगायतका हलमा पुग्दा अभिनेताद्वय सौगात मल्ल र अनुपविक्रम शाही दर्शकबाट घेरिएका थिए ।
फिल्मले उठाएको कथावस्तु, विजिएम, सिनेमाटोग्राफी, कलाकारहरूको अभिनयकला, निर्देशकीय पक्षलाई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ । समिक्षकहरूले ‘जार’लाई उच्च रेटिङ प्रदान गरिरहेका छन् । निर्देशक फुर्वाछिरिङ लामा र छायाकार सरवानन इलावार्सुलाई दर्शकले प्रत्यक्ष भेटेर बधाई र राम्रो फिल्म प्रदान गरेकोमा धन्यवाद दिए ।
यसैबीच दर्शक प्रतिक्रिया लिन ठमेलस्थित छायाँ सेन्टर पुगेका निर्देशक लामालाई एक दर्शकले उपन्यास उपहार दिएका छन् । वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित जारलाई उत्कृष्ट तरिकाले दृश्यभाषामा उतार्न सफल भएकोमा बधाई दिँदै एक दर्शकले नेपाली समाजको ऐतिहासिक कथा समेटिएका दुई उपन्यास उपहार गरेका हुन् । ‘नेपाली समुदायको इतिहास बोल्ने धेरै कथाहरू अहिलेको पुस्ताले थाहा पाउन जरुरी छ, भोलीको दिनमा पनि ऐतिहासिक दस्तावेज बन्नसक्ने फिल्महरू बनाउँदै जानु भन्ने शुभकामनासहित दर्शकले हलमै उपन्यास उपहार दिनुभयो’, निर्देशक लामाले भने ।
फिल्ममा सौगात र अनुपविक्रमसँगै भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा प्रमुख अभिनयमा छन् ।
Facebook Comment