नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता
काठमाडौँ । नेपाल सरकारले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेको छ ।
भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणबाट एक नेपाली नागरिकसहित २६ भारतीय पर्यटकले ज्यान गुमाउनुपरेको थियो । उक्त घटनापश्चात् भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत चिन्ता व्यक्त गरेको हो । यस दुःखद् घडीमा नेपाल र भारत साझा दुःख र पीडामा एकताबद्ध भई ऐक्यबद्धतामा उभिएका विज्ञप्तिमा उल्लेख छ ।
नेपालले सबै प्रकारका आतङ्कवादविरूद्ध आफ्नो दृढ अडान अनुरूप उक्त बर्बर आतङ्कवादी हमलाको तत्काल र निःसन्देह रूपमा भत्र्सना गरेको थियो । “आतङ्कवादविरूद्धको लडाइँमा नेपाल सबै पक्षसँगै उभिएको छ । आफ्नो सैद्धान्तिक अडान अनुरूप, नेपालले कुनै पनि शत्रूतापूर्ण शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरूद्ध आफ्नो भूमि प्रयोग गर्न दिने छैन”, मन्त्रालयलको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले उक्त तनाव कम हुने आशा गर्र्दै यस क्षेत्रमा दिगो शान्ति र स्थायित्वका लागि आफ्नो प्रतिबद्धतालाई पुनःपुष्टि गरेको छ ।
Facebook Comment