भारत-पाकिस्तान तनावले उत्पन्न परिस्थितिबारे सुरक्षा परिषद्‌मा छलफल

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले भारत-पाकिस्तान तनावका कारण विकसित घटनाक्रमका विषयमा छलफल गरेका छन्।

बैठकमा भारत-पाकिस्तानबीच बढिरहेको तनाव र त्यसले नेपालमा सिर्जना गर्ने सम्भावित चुनौतीका विषयमा छलफल भएको थियो। बैठकमा नेपालले अपनाउनुपर्ने संयमता र सुरक्षा रणनीतिका विषयमासमेत छलफल भएको स्रोतको भनाइ छ।

नेपाल-भारत सीमा क्षेत्रको सुरक्षाका बारेमा समेत छलफल भएको छ। प्रधानसेनापति अशोकराज सिग्देलले मुलुकको पछिल्लो सुरक्षा अवस्था र भारत-पाकिस्तान तनावपछि नेपालले अपनाउनुपर्ने संयमताका बारेमा ब्रिफिङ गरेको स्रोतले बताएको छ।

प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र प्रधानसेनापति अशोकराज सिग्देलसँग विकसित घटनाक्रमका विषयमा छलफल गरेका हुन्। यसअघि गृहमन्त्री रमेश लेखको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा यस विषयमा छलफल भएको थियो।

गृहमन्त्री लेखकले बुधबार तीनवटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर सीमा क्षेत्रको सुरक्षाका विषयमा छलफल गरेका थिए। भारत-पाक तनावले नेपालमा पार्नसक्ने असर कम गर्न गृहमन्त्री लेखकले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका थिए।

भातरले पाकिस्तानमाथि गरेको आक्रमणमा २६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइत भएका छन्। भारतले आतंकवाद लक्षित पाकिस्तानका विभिन्न ९ क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको थियो।

भारतले सिन्दुर अप्रेसनअन्तर्गत यो आक्रमण गरेको थियो। भारतले आतंकवादविरुद्ध विश्वले शून्य सहनशीलता देखाउनुपर्ने बताएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *