महाधिवेशन चाँडै गर्न लोसपा बागमतीको माग
काठमाडौं— लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको बागमती प्रदेश समितिले आसन्न महाधिवेशनको तयारीलाई तीव्रता दिँदै मातहतका जिल्ला तथा सम्बन्धित निकायका अधिवेशनहरू सम्पन्न गर्ने समयसीमा तोकेको छ ।
पार्टीको बागमती प्रदेश अध्यक्ष अध्यक्ष करण श्रेष्ठले निर्वाचन निर्देशिका-२०८१ को धारा ९ (३) बमोजिम जिल्ला, निर्वाचन क्षेत्र र प्रदेशसभाको अधिवेशन २०८२ साल वैशाख मसान्तभित्र सम्पन्न गर्नुपर्ने गरी पत्राचार गरेका छन् । अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमितिको सम्पूर्ण विवरण बागमती प्रदेश कार्यसमितिमा पठाउन निर्देशन दिइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
परिपत्रमा सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई अधिवेशनमा सक्रिय सहभागी हुन आह्वान गरिएको छ । प्रदेश अध्यक्ष श्रेष्ठले सम्पूर्ण जिल्ला अध्यक्षहरूलाई सम्बोधन गर्दै तोकिएको समयसीमाभित्र अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन प्रक्रियालाई अगाडि बढाउन निर्देशन दिएका छन् ।
लोसपा नेपालको बागमती प्रदेश समितिको यो निर्णयले पार्टीको आगामी महाधिवेशनको तयारीलाई थप गति दिने अनुमान गरिएको छ । समयमै तल्लो तहका अधिवेशनहरू सम्पन्न भएपछि प्रदेशले नयाँ नेतृत्व पाउने र महाधिवेशनको लागि थप सहज वातावरण बन्ने विश्वास लिइएको छ ।
Facebook Comment