उदयपुरमा बाढीले बस बगायो

उदयपुर— त्रियुगा खोलामा आएको बाढीले एउटा बस बगाएको छ । चौदण्डीगढी नगरपालिका– ६ मा गएराति खोला तर्ने क्रममा बस फसेको थियो ।

मंगलबार बिहान खोलामा बाढी आउँदा को १ ख ४७५३ नम्बरको बस बगाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) केदार माङ्डोङले जानकारी दिए । बसलाई बाढीले फसेको ठाउँबाट केही परसम्म पुर्‍याएको थियो ।

बसमा चालक ईश्वर खत्री र सहचालक मात्रै थिए । उनीहरू बस फसेपछि राति नै निस्किएकाले सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

त्रियुगा खोलाको पुल भत्किएको हुँदा त्यहाँ डाइभर्सन बनाइएको थियो । बस हिजो सप्तरीमा जन्ती पुर्‍याएर बेल्टार फर्किने क्रममा थियो ।

चौदण्डीगढी–६ सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीमा हरेक वर्ष नागरिकले सास्ती खेप्दै आएका छन् । त्रियुगा नदीमा बनेको पुल उद्घाटन नहुँदै भत्किएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *