चीन भ्रमणमा ओली–पुटिन भेटवार्ता: द्विपक्षीय हितमा छलफल हुने
काठमाडौं । पाँच दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भोलि (सोमबार) द्विपक्षीय भेटवार्ता हुने निश्चित भएको छ।
परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार तियानजिनस्थित मेइक्याङ सम्मेलन केन्द्रमा दुई नेताबीच करिब आधा घन्टाको वार्ता हुने छ। अधिकारीले भने, “उहाँहरूबीच सोमबार बिहान ६:४५ बजेदेखि करिब आधा घन्टासम्म भेटवार्ता हुनेछ। यस क्रममा द्विपक्षीय हितका विषयमा छलफल हुनेछ।”
प्रधानमन्त्री ओली एससीओ सम्मेलनमा सहभागी हुन चीन पुगेका हुन्। शनिबार उनी चीन पुगेका थिए र त्यहाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता समेत गरेका थिए। यस क्रममा उनले चीन र भारतबीच लिपुलेक नाका सम्बन्धी सम्झौताको विषयमा पनि ध्यानाकर्षण गराएका थिए।
यसअघि प्रधानमन्त्री ओलीले आइतबार भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग पनि भेटवार्ता गरेका थिए।
Facebook Comment