गृहमन्त्री लेखकको निर्देशन : “सीमा नाकामा अवैध चोरी–पैठारी र निकासी रोक्न सहकार्य अनिवार्य”
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सीमा नाकामा हुने अवैध चोरी–पैठारी तथा निकासी रोक्न सरोकारवाला निकायलाई घनिष्ठ समन्वय गरेर काम गर्न निर्देशन दिएका छन्।
आइतबार पर्सा जिल्ला प्रशासन कार्यालयमा बसेको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री लेखकले स्थानीय प्रशासन, भन्सार कार्यालय र तीनै सुरक्षा निकायबीच सहकार्य र आपसी तालमेल अनिवार्य रहेको बताए।
उनले भने, “राजस्व चुहावट नियन्त्रण सबै निकायको साझा जिम्मेवारी हो। दोषारोपण गरेर होइन, समन्वय र सहकार्य गरेर मात्र अवैध गतिविधि रोक्न सकिन्छ।”
मन्त्री लेखकले सीमा क्षेत्रमा हुने अवैध तस्करी, चोरी–पैठारी तथा आपराधिक गतिविधि नियन्त्रण गर्न मातहतका अधिकारीलाई सक्रिय भई पहलकदमी गर्न निर्देशन दिएका छन्।
बैठकमा वीरगन्ज भन्सार कार्यालयका प्रमुख प्रशासक विष्णुप्रसाद ज्ञवालीले गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा उत्साहजनक राजस्व संकलन भएको जानकारी दिए। उनले चालु आवमा पनि लक्ष्यअनुसार राजस्व संकलन गर्न चोरी–तस्करी नियन्त्रण अपरिहार्य रहेको भन्दै सबै निकायको सहकार्य आवश्यक रहेको धारणा राखे।
त्यस्तै, पथलैया राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले बिलबिजक बिना तस्करी हुने प्रवृत्तिलाई रोक्न सुरक्षा निकायलाई सक्रिय हुन आग्रह गरे। उनले भारतीय नागरिकले नेपाली कम आय भएका नागरिकको नागरिकता दुरुपयोग गरी फर्म दर्ता गरेर तस्करी गर्ने प्रवृत्ति बढेकाले यसतर्फ विशेष सतर्कता आवश्यक रहेको बताए।
हालै मात्र पर्साको प्रमुख जिल्ला अधिकारी बनेका तोयनारायण सुवेदीले जिल्लाको शान्ति–सुरक्षा र राजस्व चुहावट नियन्त्रणलाई प्राथमिकतामा राखी सम्बद्ध निकायसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए।
नेपाल प्रहरी मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीले भन्सार नाकाको वरिपरि गोदाम खोल्ने प्रवृत्ति तस्करीलाई संरक्षण दिने भएकाले यसलाई तत्काल निरुत्साहित गर्नुपर्ने बताए।
बैठकमा संघीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया र खानेपानी मन्त्री प्रदीप यादव समेत सहभागी थिए। गृहमन्त्री लेखक शनिबार राति वीरगन्ज पुगेका हुन् र आइतबार विभिन्न कार्यक्रमहरूमा सहभागी भइरहेका छन्।
Facebook Comment