काभ्रेको नालाबाट ल्याइएको यःसी नगर प्रवेश, इन्द्रजात्रा तयारी तीव्र

काठमाडौं । यस वर्षको ऐतिहासिक एवं सांस्कृतिक पर्व इन्द्रजात्राका लागि काभ्रेको नाला जंगलबाट ल्याइएको यःसी (लिङ्गो) आइतबार साइतअनुसार नगर प्रवेश गराइएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको साइतअनुसार बिहान भोटाहिटीबाट लिङ्गो नगर प्रवेश गराइएको गुठी संस्थानले जानकारी दिएको छ। समितिको निर्णयअनुसार भाद्र १९ गते बिहान १० बजेर ३१ मिनेटमा इन्द्रध्वजोत्थान गरिने तय भएको छ।

इन्द्रध्वजोत्थान सम्पन्न भएपछि भाद्र २१ गतेदेखि औपचारिक रूपमा इन्द्रजात्रा सुरु हुने स्थानीय राजन महर्जनले जानकारी दिए। जात्राको क्रममा परम्परागत रूपमा जीवित देवी कुमारीलाई तल्लो र माथिल्लो टोल भ्रमण गराइने प्रथा रहेको छ।

पर्वलाई भव्य बनाउन श्रीगणेश, श्रीभैरव र श्रीकुमारीका रथको तयारी कार्य पनि सुरु गरिएको छ। जात्राको मुख्य दिन ती तीनै रथ तान्न सुरु गरिनेछ। सो दिन राष्ट्रप्रमुख वसन्तपुर दरबार क्षेत्रमा उपस्थित हुने परम्परा रहिआएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *