छाउगोठमा सुतिरहेका अवस्थामा ढुङ्गाले किच्दा दुई जनाको ज्यान गयो, एक घाइते
काठमाडौं । अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–८ स्थित सेलापानीको चुरखोली टोलमा छाउगोठमा सुतिरहेका अवस्थामा ढुङ्गा खस्दा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएकी छन्। जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार घटनास्थलमै उनीहरूको मृत्यु भएको हो।
मृत्यु हुनेमा सोही स्थानकी ३५ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका–६ की सात वर्षीया कविता भण्डारी रहेको पुष्टि गरिएको छ। उनीहरू छाउगोठमा सुतिरहेका बेला बिहान अचानक भीरबाट ठूलो ढुङ्गा खसेर किचिएको थियो।
घटनामा कविताकी आमा घाइते भएकी छन् भने उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान गर्न प्रहरी निरीक्षक टेकबहादुर देउवाको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको डीएसपी खनालले जानकारी दिए।
Facebook Comment