गगन थापाको माग : आन्दोलित उखु किसानलाई तत्काल अनुदान भुक्तानी गर्न सरकारलाई आग्रह
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उखु किसानहरूको आन्दोलनलाई गम्भीर रूपमा लिँदै, सरकारले उनीहरूको समस्या तत्काल समाधान गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
बुधबार कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग भेट गर्दै थापाले सरकारले पहिले नै प्रतिबद्धता जनाएको ‘बिक्रीमा आधारित प्रोत्साहन अनुदान’ तत्काल भुक्तानी गर्न आग्रह गरे।
उनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा “उखु कृषकहरूलाई अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७५ (संशोधित)” अन्तर्गत किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान दिन २ अर्ब रुपैयाँ छुट्याइएको छ।
थापाले बजेटको अभाव भनेर सरकार पछि हट्न नहुने भन्दै, उक्त रकम तत्काल निकासा गरी किसानलाई भुक्तानी प्रक्रिया अघि बढाउनुपर्ने बताए।
सरकारी निर्णयमा स्थायित्व हुनुपर्छ थापाले कृषिमन्त्रीसँगको भेटमा किसानको हितमा सरकारले कहिले निर्णय गरेर फिर्ता गर्ने प्रवृत्तिमा अन्त्य गर्नुपर्ने जोड दिए।
उनले भने, “किसानलाई बारम्बार सडकमा ल्याउनु उचित होइन। न्यूनतम मूल्यदेखि अनुदानसम्मको व्यवस्था स्पष्ट र दीर्घकालीन हुनुपर्छ। यसका लागि सरोकारवाला सबै निकायको सहभागितामा बहुआयामिक रूपमा काम गर्न आवश्यक छ।”
महामन्त्री थापाले किसानलाई तत्काल भुक्तानी दिई आन्दोलन अन्त्य गर्ने वातावरण बनाउन, र दीर्घकालीन समाधानको दिशामा ठोस पहल गर्न सरकारसँग आग्रह गरेका छन्।
Facebook Comment