शरीर अंगभंग मुद्दामा इनरुवाका वडाध्यक्ष सुमन थापाविरुद्ध पक्राउ पुर्जी, फरार रहेका थापा मन्त्री भेटेर संरक्षण खोज्दै

काठमाडौं । सुनसरी जिल्लाको इनरुवा नगरपालिका–६ का वडाध्यक्ष सुमन थापाविरुद्ध जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी गरिएको छ। थापाविरुद्ध शरीर अंगभंगसम्बन्धी फौजदारी अभियोगमा मुद्दा दर्ता भएपछि अदालतको आदेशमा प्रहरीले पक्राउ अनुमति लिएको हो।

२०७८ फागुन २२ गते साँझ थापाले चलाएको बा २१ च ६८८८ नम्बरको कारले प्र.१–०२–०४४प ७४२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। उक्त दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार देविका खनाल गम्भीर घाइते भइन्। उपचारपछि उनी हाल अशक्त अवस्थामा जीवन यापन गरिरहेकी छन्।

दुर्घटनापछि पीडित पक्षले उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गरेपछि अदालतले भदौ ३ गते जिल्ला सरकारी वकिल कार्यालयलाई कारणसहितको जवाफ पेस गर्न आदेश दिएको थियो। त्यसपछि साउन १६ गते थापाविरुद्ध मुद्दा दर्ता गरिएको र साउन २० गते पक्राउ पुर्जी जारी भएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए। उनका अनुसार थापा हाल फरार छन् र उनको खोजी कार्य जारी छ।

कानुनअनुसार कुनै पनि सार्वजनिक पदमा रहेका व्यक्तिविरुद्ध अदालतमा फौजदारी मुद्दा दर्ता भएलगत्तै सो व्यक्ति स्वतः निलम्बनमा जानुपर्छ। तर वडाध्यक्ष थापा भने मुद्दा दर्ता र पक्राउ पुर्जी जारी भइसकेपछि पनि भदौ ८ गतेसम्म वडाको नियमित कामकाजमा सक्रिय देखिएका थिए। उनी भदौ ९ गतेदेखि वडा सदस्य कृष्णकुमार श्रेष्ठलाई कार्यवाहक तोकेर फरार भएका हुन्।

यसबीच, फरार थापाले उपप्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकलाई भेटेर आफूविरुद्धको कारबाही रोक्न आग्रह गरेको बुझिएको छ।

सुनसरीका कानुन व्यवसायी वसन्त सुवेदीका अनुसार शरीर अंगभंगसम्बन्धी मुद्दा गम्भीर प्रकृतिको फौजदारी मुद्दा हो, र यस्तो मुद्दामा सार्वजनिक पद धारण गरेका व्यक्तिहरू स्वतः निलम्बनमा पर्ने प्रावधान छ।

प्रहरीले वडाध्यक्ष थापाको खोजी तीव्र पारेको जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *