नेपालमा ग्रीन हाइड्रोजन र फ्युल सेल प्लान्ट स्थापनाका लागि कोरियाली कम्पनीसँग समझदारी
काठमाडौं । नेपालमा नवीकरणीय ऊर्जाका स्रोतमार्फत ग्रीन हाइड्रोजन उत्पादन र फ्युल सेल प्रविधिको उपयोग गरी स्वच्छ बिजुली तथा इन्धन उत्पादन गर्ने उद्देश्यसहित नेपाल सरकार, लगानी बोर्ड र दक्षिण कोरियाली कम्पनी ‘जि–फिलोस कम्पनी लिमिटेड’बीच विस्तृत सम्भाव्यता अध्ययन (DPR) तयार गर्ने समझदारी भएको छ।
यस समझदारीअनुसार कम्पनीले नेपालमा ग्रीन हाइड्रोजन तथा फ्युल सेल प्लान्ट स्थापना, विकास र सञ्चालनका लागि आवश्यक विस्तृत सम्भाव्यता प्रतिवेदन तयार पार्नेछ।
समझदारीपत्रमा लगानी बोर्डका तर्फबाट प्रमूख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवाली र जि–फिलोस कम्पनीका सीईओ गा वु पार्कले हस्ताक्षर गरे। कम्पनीले बोर्डबाट सर्वेक्षण अनुमति प्राप्त गरेको मितिबाट १० महिनाभित्र प्रतिवेदन तयार पारेर लगानी बोर्डमा पेश गर्नुपर्नेछ।
समारोहमा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताए योङले नेपालमा स्वच्छ तथा नवीकरणीय ऊर्जाका क्षेत्रमा अपार सम्भावना रहेको बताए। उनले यस्ता परियोजनाले नेपालको दिगो विकास लक्ष्य (SDGs) हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। साथै, उनले यस पहलले नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थप्ने उल्लेख गरे।
लगानी बोर्डका सीईओ ज्ञवालीले यस्ता प्रविधिमैत्री परियोजनाहरूले नेपालको विकासमा ठूलो योगदान पुर्याउने बताउँदै प्राज्ञिक क्षेत्रको समेत सहकार्य आवश्यक रहेको उल्लेख गरे। उनले समयमै गुणस्तरीय प्रतिवेदन प्राप्त हुने विश्वास व्यक्त गर्दै नेपालमा चाँडै ग्रीन हाइड्रोजन प्लान्टको कार्यान्वयन हुने प्रतिबद्धता जनाए।
जि–फिलोस कम्पनीले सार्वजनिक–निजी साझेदारी (PPP) मोडेलमा ग्रीन हाइड्रोजन तथा फ्युल सेल प्लान्ट स्थापना गर्न २०८२ साल वैशाख १५ गते लगानी बोर्डमा प्रस्ताव पेश गरेको थियो।
त्यसपछि लगानी बोर्डको ६३औं बैठकले उक्त प्रस्ताव स्वीकार गर्दै कम्पनीलाई सर्वेक्षण अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको हो।
Facebook Comment