१५१ सडकखण्डमा आंशिक यातायात, ९ सडक पूर्ण अवरुद्ध

काठमाडौं । देशभर जारी अविरल वर्षाका कारण विभिन्न जिल्लाका नौ सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १५१ सडकखण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

सडक विभागले बिहीबार सार्वजनिक गरेको जानकारी अनुसार हाल देशभर ३७१ सडकखण्डमध्ये २११ सडकखण्ड खुला रहेका छन्। विभागका सूचना अधिकृत अमितकुमार शर्माका अनुसार बाढी, पहिरो, डुबान, पुल बगाउने, निर्माण तथा मर्मतकार्य लगायतका कारणले यातायात अवरुद्ध भएको हो।

अझै नखुलेका मुख्य सडकहरू यस्ता छन्:

गल्छी–त्रिशुली–मैलुङ–स्यापुबेशी–रसुवागढी सडकखण्ड:
असार २४ मा चीनतर्फबाट आएको हिमताल फुटेर आएको बाढीका कारण अहिलेसम्म पूर्ण रूपमा अवरुद्ध छ।

कर्णाली करिडोर (दक्षिण खण्ड):
हुम्लाको पैमा नदीमा पानीको बहाव अत्यधिक बढेकाले सडक सञ्चालनमा आउन सकेको छैन।

उत्तर–दक्षिण कोशी राजमार्ग:
पुल निर्माण कार्य जारी रहँदा र उच्च जलप्रवाहका कारण यो सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको विभागले जनाएको छ।

तमोर करिडोर (चतुरा–मुलघाट–माझीटार–अमरापुर डाँडा–गणेशचोक):
साउन ६ गते बेलिब्रिज बाढीले बगाएपछि सडक संचालन हुन सकेको छैन।

तातोपानी–टिमुरे (ठोरी–रसुवागढी सडक):
यस सडकमा समेत पहिरोका कारण पूर्ण अवरोध रहेको र हाल मलबा हटाउने काम भइरहेको छ।

भेरी करिडोर (छिन्चु–मरिम सडकखण्ड, पश्चिम रुकुम):
लेदो र पहिरोले सडक पूर्ण अवरुद्ध छ।

सहिद राजमार्ग (रोल्पा):
निरन्तरको वर्षाका कारण पहिरो हटाउने काम वर्षा रोकिएपछि मात्र सम्भव हुने विभागले जनाएको छ।

सुर्खेत–तल्लो डुगेश्वर–जुम्ला सडकखण्ड (दैलेख):
लगातार सुख्खा पहिरो खस्ने क्रम जारी रहेकाले राति सडक बन्द रहने र दिनको समयमा मात्र सञ्चालन गरिने व्यवस्था गरिएको छ।

अरनिको राजमार्ग (सिन्धुपाल्चोक खण्ड):
भारी वर्षापछिको पहिरोका कारण यो सडक खण्डसमेत पूर्ण रूपमा बन्द छ।

सडक विभागले जोखिमयुक्त स्थानहरूमा पहिरो पन्छाउने र सडक सञ्चालनमा ल्याउने प्रयास तीव्र पारिएको जानकारी दिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *