चीनको सैन्य परेडमा किम जोङ उन सहभागी हुने, पुटिनसँगै उपस्थित हुने तयारी

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन आगामी सेप्टेम्बर ३ मा चीनमा आयोजना हुने सैन्य परेडमा सहभागी हुने भएका छन्। दोस्रो विश्वयुद्धको समाप्तिको ८०औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने उक्त परेडमा किमले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगै उपस्थिति जनाउने तय भएको छ।

चीनको विदेश मन्त्रालयले परेडमा २६ मुलुकका राष्ट्र वा सरकारप्रमुखहरूको सहभागिता सुनिश्चित भइसकेको जानकारी दिएको छ। ‘विजय दिवस’ का रूपमा चिनिने उक्त दिवस जापानमाथिको ऐतिहासिक विजयको सम्झनामा मनाइने गरिएको छ।

संयुक्त राज्य अमेरिका तथा उसका पश्चिमा सहयोगी राष्ट्रहरूले युक्रेनमाथि जारी रुसको आक्रमणलाई लिएर कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन्।

चिनियाँ परराष्ट्र मन्त्रालयले उत्तर कोरियालाई “परम्परागत मैत्रीपूर्ण छिमेकी” भनी उल्लेख गर्दै किम जोङ उनको सहभागिता प्रति स्वागत जनाएको छ। विश्लेषकहरूका अनुसार रुससँग हालै सम्बन्ध विस्तार गरेका किमले चीनसँगको सम्बन्धलाई पनि सुदृढ बनाउने प्रयासस्वरूप यो भ्रमण तय गरेका हुन्।

किमको पछिल्लो विदेश भ्रमण सन् २०२३ मा भएको थियो। त्यसपछि, २०२५ को जुन महिनामा उनले प्योङयाङमा रुसी राष्ट्रपति पुटिनसँग आपसी रक्षा सन्धिमा हस्ताक्षर गरेका थिए।

चीनले यस परेडमा आफ्ना नयाँ सैन्य प्रविधि, हतियार प्रणाली, ट्याङ्क, एन्टी–ड्रोन प्रविधि तथा सयौँ सैन्य विमानहरू प्रदर्शन गर्ने कार्यक्रम रहेको जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *