साफ यू–१७ महिला च्याम्पियनशिप: बङ्गलादेशसँग पुनः पराजित, नेपाल उपाधि दौडबाट बाहिरियो
काठमाडौं । साफ १७ वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले पुनः बङ्गलादेशसँग हार बेहोरेको छ। आज भूटानको थिम्पुमा सम्पन्न खेलमा बङ्गलादेशले नेपाललाई ४–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताबाट नेपाललाई उपाधि होडबाहिर पुर्याएको हो।
बङ्गलादेशकी सौरभी अकन्दा प्रितीले ह्याट्रिक गर्दै तीन गोल र थुइनुए मार्माले एक गोल गरे। नेपालका लागि एक मात्र गोल भूमिका बुढाथोकीले फर्काइन्।
यो नेपालका लागि प्रतियोगिताको चौथो खेल हो। यसअघि नेपाल बङ्गलादेशसँग पहिलो भेटमा ३–० ले पराजित भएको थियो। भारतसँग पहिलो खेलमा ७–० को ठूलो अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा भूटानलाई २–१ ले हराएको थियो।
साफ च्याम्पियनशिपमा नेपाल, भारत, भूटान र बङ्गलादेश सहभागी छन्। डबल राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगितामा लिग चरणपछि अंकतालिकाको शीर्ष स्थानमा रहने टिम विजेता घोषित हुनेछ।
नेपालले अब बाँकी दुई खेलमा शुक्रवार भारतसँग र आइतवार भूटानसँग प्रतिस्पर्धा गर्नेछ। यद्यपि, यी खेलहरू नेपालका लागि औपचारिकता मात्रै हुनेछन्।
Facebook Comment