जिल्ला कारागार मोरङमा महिला कैदी मृत फेला, शौचालयभित्र सलको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिइन्

काठमाडौं ।  मोरङको जिल्ला कारागारमा एक महिला कैदी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। सुनसरीको बराहक्षेत्र नगरपालिका–६ घर भएकी ३२ वर्षीया राधिका भनिने राधा भट्टराई बुधबार बिहान ४:३० बजे कारागारको शौचालयभित्र झुन्डिएको अवस्थामा भेटिएकी हुन्।

जेलर गौरव ढुंगेलका अनुसार भट्टराईको शव शौचालयभित्र सलको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको हो। “शौचालयको ढोका भित्रबाट चुक्कुल लगाइएको थियो,” उनले भने, “घटनाको प्रारम्भिक अवस्था हेर्दा आत्महत्या जस्तो देखिन्छ।”

घटनाको जानकारी पाएलगत्तै मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडाल नेतृत्वको टोली घटनास्थलमा अनुसन्धानका लागि पुगेको थियो। परिवार र आफन्तलाई जानकारी गराइएको र उनीहरूको उपस्थितिपछि कानुनी प्रक्रिया पुरा गरेर शव पोस्टमार्टमका लागि पठाइने जेल प्रशासनले जनाएको छ।

जेल प्रशासनका अनुसार राधा भट्टराईलाई पहिले देखि नै डिप्रेसनको समस्या थियो। २०८० साल माघ पहिलो साता उनले आफ्ना दुई सन्तानसहित (एक छोरा र एक छोरी) सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहरमा हामफालेकी थिइन्। स्थानीयले उनलाई र छोरा उद्धार गरेका थिए, तर करिब ६ वर्षकी छोरीको मृत्यु भएको थियो।

उक्त घटनापछि प्रहरीले २०८० माघ ५ गते उनलाई पक्राउ गरी अनुसन्धान थालेको थियो। अनुसन्धानपछि उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरिएको थियो। अदालतले माघ २३ गते थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो। त्यसपछि उनी मोरङ जिल्ला कारागारमा थुनामा राखिएकी थिइन्।

अन्ततः सुनसरी जिल्ला अदालतले २०८१ साल कात्तिक ७ गते फैसला सुनाउँदै उनलाई जन्मकैद (२५ वर्ष कैद)को सजाय तोकेको थियो। त्यसयता उनी मोरङ कारागारमै सजाय भोग्दै आएकी थिइन्।

हाल मोरङ जिल्ला कारागारमा १०७ जना महिला कैदीबन्दी छन्, जसमा २ जना आश्रित बालक पनि छन्। राधा भट्टराईको निधनसँगै महिला कैदीको संख्या घटेर १०७ पुगेको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *