इजरायल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना काठमाडौंबाट पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका नाममा इजरायल र जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना व्यक्ति प्रहरीको फन्दामा परेका छन्। पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार नगरपालिका–१ का २८ वर्षीय सुसन ताम्राकार र काठमाडौं महानगरपालिका–१५ का ५० वर्षीय योगेन्द्र घले रहेका छन्।
प्रहरीका अनुसार सुसन ताम्राकारले इजरायल पठाइदिने भन्दै एक व्यक्तिसँग १२ लाख रुपैयाँ लिएका थिए भने योगेन्द्र घलेले जापान पठाइदिने प्रलोभन देखाई अर्का पीडितबाट ६ लाख रुपैयाँ असुलेका थिए। रकम लिएपछि दुबै जना पीडितहरूसँग सम्पर्कविहीन भएका थिए।
पीडितहरूले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सुसनलाई आइतबार काठमाडौं महानगरपालिका–९ बाट र योगेन्द्रलाई सोमबार काठमाडौं महानगरपालिका–१० बाट पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।
Facebook Comment