बसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन, मापदण्डविपरीतको ३१ लिटर तेल नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमवार वडा नम्बर २३ र २४ अन्तर्गत बसन्तपुर र इन्द्रचोक क्षेत्रका रेस्टुरेन्ट र मिठाई पसलमा खाद्य अनुगमन गरेको छ। महानगरको कृषि तथा पशुपंक्षी विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले घुम्ती प्रयोगशालासहित (खाद्य अनुगमन भ्यान प्रयोग गरी) चार रेस्टुरेन्ट र एक मिठाई पसलको निरीक्षण गरेको हो।

अनुगमनका क्रममा चारवटै रेस्टुरेन्टमा प्रयोग भइरहेको तार्ने तेलको गुणस्तर परीक्षण गरिएको थियो। परीक्षणमा दुई रेस्टुरेन्टको तेल मापदण्डविपरीत रहेको पाइएको थियो। सोही आधारमा ती रेस्टुरेन्टबाट क्रमशः २२ लिटर र ९ लिटर गरी कुल ३१ लिटर अखाद्य तेल व्यवसायीको रोहबरमा नष्ट गरिएको छ।

मिठाई पसलबाट संकलन गरिएको नमुनाको परीक्षण गर्दा भने सबै मिठाईहरू मापदण्डअनुसारको रहेको देखिएको छ।

अनुगमन टोलीले खाद्य व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूलाई स्वच्छता र सरसफाइमा विशेष ध्यान दिन, तार्ने तेल बारम्बार प्रयोग नगर्न, शाकाहारी र मांसाहारी खाद्यवस्तुहरू छुट्टाछुट्टै भण्डारण गर्नलगायत निर्देशन दिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको स्वास्थ्य र खाद्य सुरक्षालाई उच्च प्राथमिकता दिँदै यस्ता अनुगमनलाई नियमितरूपमा जारी राख्ने प्रतिबद्धता जनाएको छ। साथै, सबै व्यवसायीलाई खाद्य स्वच्छता र गुणस्तरमा जिम्मेवार बन्न आग्रह गरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *