कवाड व्यवसायीहरूका पाँचबुँदे मागसहित काठमाडौंमा प्रदर्शन
काठमाडौं । कवाड व्यवसायी, संकलक तथा मजदुरहरूले विभिन्न पाँचबुँदे माग राख्दै काठमाडौंमा प्रदर्शन गरेका छन्। आफ्नो पेशा व्यवसाय गर्न पाउने संवैधानिक हकको ग्यारेन्टी हुनुपर्ने माग गर्दै उनीहरू काठमाडौं महानगरपालिकाविरुद्ध आन्दोलनमा उत्रिएका हुन्।
उनीहरूले सोमबार कमलादीस्थित काठमाडौं महानगरको कार्यालय अगाडि नाराबाजीसहित धर्ना दिएका थिए। धर्नाका क्रममा व्यवसायीहरूले आफूहरूलाई पेसा गर्न नदिइएको, कुटपिट, अपहरण, संरचना भत्काउनेलगायत ज्यादती भइरहेको भन्दै ती गतिविधि तत्काल रोक्न माग गरे।
कवाड व्यवसायीहरूको भनाइमा, काठमाडौं महानगरका सुरक्षाकर्मीहरूको ज्यादतीले उनीहरूको जीविका संकटमा परेको छ। उनीहरूले ज्यादतीमा संलग्न महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने माग समेत गरेका छन्।
प्रदर्शनकारीहरूले सरकारसँग कवाड व्यवसायी, संकलक र मजदुरहरूको जिउधनको सुरक्षाको सुनिश्चितता गर्न तुरुन्त हस्तक्षेप गर्न आह्वान गरेका छन्। साथै, विगत दुई वर्षमा महानगरबाट भएको क्षतिको क्षतिपूर्ति पनि माग गरेका छन्।
आफ्नो अस्तित्व र जीविकाको रक्षाका लागि उनीहरू आन्दोलित हुनुपरेको व्यवसायीहरूको गुनासो छ।
Facebook Comment