राष्ट्रपति पौडेल र भियतनामी उपराष्ट्रपतिबीच शिष्टाचार भेट: द्विपक्षीय सहकार्य विस्तारमा जोड

काठमाडौं । नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति वो थि आन्ह सुआनले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेकी छिन्।

भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले नेपाल र भियतनामबीच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रहरूमा द्विपक्षीय आर्थिक सहकार्य प्रगाढ बनाउन ठूलो सम्भावना रहेको उल्लेख गरे। उनले नेपाल सरकार यस्ता क्षेत्रहरूमा सहकार्यलाई तीव्रता दिन इच्छुक रहेको पनि बताए। उक्त भनाइ राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका हुन् ।

राष्ट्रपति पौडेलले नेपाल अहिले कृषि, पर्यटन, उत्पादन र जलविद्युत् क्षेत्रमार्फत आर्थिक तथा सामाजिक रूपान्तरणमा केन्द्रित रहेको जानकारी दिए। साथै, भियतनामले आफ्नो अर्थतन्त्रलाई विश्वकै तीव्र गतिमा विकास भइरहेको अर्थतन्त्रका रूपमा उभ्याउन सफल भएकोप्रति खुशी व्यक्त गर्दै त्यसबाट नेपालले पनि सिक्न सक्ने धारणा राखे।

उनले बौद्ध धर्मलाई दुवै देशबीचको गहिरो सांस्कृतिक सम्बन्धको सेतुको रूपमा रहेको उल्लेख गर्दै, लुम्बिनीप्रति भियतनामी जनताको आकर्षण नेपालका लागि गौरवको विषय भएको बताए।

भेटका क्रममा भियतनामकी उपराष्ट्रपति सुआनले नेपालले सन् २०३० सम्ममा मध्यम आय स्तरको देश बन्ने लक्ष्य लिएको र भियतनामले सन् २०४५ सम्ममा उच्च आय भएको राष्ट्र बन्ने उद्देश्य लिएको चर्चा गर्दै, त्यसभन्दा पहिले नै दुई देशबीच बृहत् सहकार्यको संरचना निर्माण गर्नु आवश्यक रहेको धारणा राखीन।

उनले संस्कृति, खेलकुद र पर्यटनका क्षेत्रमा पनि आपसी सहकार्यको आवश्यकता औंल्याईन्। साथै, नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा शान्ति स्थापनामा देखाएको योगदान र जलवायु परिवर्तनप्रति व्यक्त गरेको प्रतिबद्धता सराहनीय रहेको बताईन।




Leave a Reply

Your email address will not be published. Required fields are marked *