‘माग्ने राजा’ हेरेपछि दर्शकबाट आएको एक ‘कमेन्ट’ जस्ताको तस्तै
काठमाडौं । खचाखच दर्शकका साथ देशभर चलचित्र माग्ने राजा प्रदर्शन भइरहेको छ । हल पुगेका दर्शकबाट आउको सकारात्क टिप्पणीले पनि चलचित्र प्रतिको आकर्षण बढेको छ ।
चलचित्रकै सेरोफेरोमा चलचित्र हेरेपछि मोहन बास्तोलाले सामाजिक सञ्जालबाट दिएको यो प्रतिक्रिया फिल्म हेर्ने कि नहेर्ने भन्ने दोधारमा रहेका तपाईंका लागि पूर्वानुमान लगाउन सजिलो हुनसक्छ ।
बास्तोलाको यो प्रतिक्रिया जस्ताको तस्तै:
सुन्धारास्थित सिभिल मलमा आज छोरो अनुभवको चाहना अनुसार ‘माग्ने राजा’ हेर्न श्रीमतीजीसहित पुगियो । ‘म त सुतेर उठेको पैसामा’ बोलको गीत छोरो अनुभव मुखैमा झुन्डिएको गीत हो । सायद यही गीतले तानेर होला उसैले अनलाइनबाट ३ वटा टिकट बुक गरेछ । ३:४५ को शो हेर्न हल पुग्दा हल खचाखच थियो । हाँस्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘माग्ने राजा’ अन्य धेरै चलचित्रको तुलनामा सन्देश मुलक मात्रै होइन राजनीतिप्रतिको सन्तुलित व्याङ्ग्य रहेको चलचित्र पनि लाग्यो । केदार घिमिरे यो चलचित्रमा विभिन्न अवतारमा देखिएका छन् । तर, सबै भूमिकामा सशक्त देखिएका छन् । सडकमा श्रीपेच लगाएर दौडिने मात्रै होइन सडकमा पोलेको मकै खाने, क्लब डिस्कोमा मस्ती गर्ने मात्रै होइन नासाको अन्तरीक्ष वैज्ञानिक बन्ने अनि नेता बनेर चुनावी अभियानको चरित्रमा समेत उनको भूमिका बुलन्द देखिएको छ । नाटक, गाइजात्रा, चलचित्र सबैतिर पुराना राजनीतिक दलहरुले मात्रै देश बरबाद बनाएको भाष्य निर्माण गर्ने प्रयास गरिएको हुन्छ । तर, यो चलचित्रमा नयाँ भनिएकाहरुले पनि काममा सिन्को नभाच्ने तर स्टन्टले हायलकायल बनाउने गरेको कथालाई माग्ने राजामा रोचक ढंगले प्रस्तुत गरिएको रहेछ । शक्तिका पछि मात्रै कुद्नेहरुका लागि माग्ने राजाको चालकले सबै घर-सम्पत्ति रोक्का गर्दा पनि साथ छाड्दिन भनेर दिएको साथ, एक जना किसानलाई साहुको ऋण चुक्ता गर्न माग्ने राजाले पैसा दिएको र बचेको पैसाले बीउ किनेर उखु उत्पादन गरि पछि एक अँगालो उखुका लाक्रा उपहार दिएको, ट्याक्सी चालकले अन्तिममा १५ सय भाडा नलिएको, सुरुमा पैसाका लागि वर्षा माग्ने बुढाको सहयोगी बनेको र पछि उनिप्रति समर्पण भाव उत्पन्न हुनु जस्ता विषयले चलचित्रलाई रोमाञ्चक बनाएको छ । धन भन्दा गाउँ र श्रीमान गाउँ फर्किने आशाको त्यान्द्रोमा झुन्डिइरहेकी कालीबुढिले दिएको सन्देश व्यक्त गर्न नसकिने खालको छ। चलचित्रका दृष्यहरु लोभलाग्दा छन् भने अन्य कलाकारले पनि चरित्रको न्याय गरेको देखिन्छ । ऋषि लामिछाने निर्देशन अनि सामिप्य तिमल्सेनाको पटकथा चर्चा गर्न योग्य लाग्यो । समग्रमा चलचित्र राम्रो छ । हलमा परिवारसहित हेर्न जाँदा पैसा खेर गएको अनुभूति हुन्न ।
Facebook Comment