हँसाउँदै ‘माग्ने राजा’: युवा जागरणको नयाँ शैली
काठमाडौं । ‘माग्ने राजा’ चलचित्रले प्रदर्शनको पहिलो दिनमै दर्शकको मन जित्न सफल भएको छ। भदौ ६ गतेबाट प्रदर्शनमा आएको यस चलचित्रले हास्य र सामाजिक सन्देशलाई सन्तुलित रूपमा प्रस्तुत गरेको छ।
लामो समयदेखि हास्यकलाकारको रूपमा परिचित केदार घिमिरे (माग्ने बुढा) को मुख्य भूमिका, ६१ लाख पारिश्रमिकको चर्चा, र आकर्षक पोस्टर तथा ट्रेलरका कारण यो चलचित्रप्रति दर्शकमा ठूलो उत्सुकता थियो। दर्शकहरू माग्ने बुढालाई अभिनेताको रूपमा, वर्षा सिवाकोटीसँगको रोमान्समा, र एक्सन अवतारमा हेर्न आतुर थिए।
चलचित्रको पहिलो भागमा हास्य प्रधान रहेको छ। माग्ने बुढाका संवादहरूले दर्शकलाई खुलेर हँसाउँछन्। मध्यान्तरपछि भने कथाले गम्भीर मोड लिन्छ र नेपालको वर्तमान राजनीतिक अवस्था, भ्रष्टाचार, र देशभक्तिको मुद्दालाई उठान गर्छ। यसले दर्शकलाई हँसाउनुका साथै सोच्न बाध्य बनाउँछ र आफ्नो देशप्रतिको जिम्मेवारीबारे प्रश्न गर्न प्रेरित गर्छ।
चलचित्रले जनतालाई ‘राइट टु रिजेक्ट’ (Right to Reject) को अधिकारबारे पनि शिक्षा दिन खोजेको छ, जसले अहिलेको राजनीतिक निराशालाई कम गर्न सकिन्छ भन्ने सन्देश दिन्छ।
सात वर्षपछि निर्देशनमा फर्किएका ऋषि लामिछानेले माग्ने बुढालाई अभिनेताको रूपमा सफलतासाथ प्रस्तुत गरेका छन्। उनले दर्शकको अपेक्षा अनुसार हास्य र सामाजिक सन्देश दुवैलाई राम्रोसँग मिलाएका छन्। अभिनेत्री वर्षा सिवाकोटीको सुन्दरताले चलचित्रमा थप आकर्षण थपेको छ।
समग्रमा, ‘माग्ने राजा’ले दर्शकको अपेक्षा अनुसारको मनोरञ्जन प्रदान गरेको छ र यसले दर्शकलाई निराश नबनाउने विश्वास गरिएको छ।
Facebook Comment