पाकिस्तान शाहीन्ससँग नेपाल २ रनले पराजित, सेमिफाइनलको सम्भावना समाप्त
काठमाडौं । अष्ट्रेलियामा भइरहेको टप एण्ड टी–२० शृङ्खलामा नेपाल पाकिस्तान शाहीन्ससँग २ रनको झिनो अन्तरले पराजित भएको छ। यो हारसँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना पनि समाप्त भएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान शाहीन्सले नेपाललाई १४५ रनको लक्ष्य दिएको थियो। पाकिस्तानका कप्तान इरफान खानले अविजित ४२ रन बनाए भने अब्दुल समादले २६ र मोहम्मद वासिमले २३ रनको योगदान दिए। नेपालका बलरतर्फ सोमपाल कामीले सर्वाधिक ३ विकेट लिएका थिए भने दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २-२ विकेट हात पारे।
जवाफी ब्याटिङमा आएको नेपालले ७ विकेटको क्षतिमा १४३ रन मात्र बनाउन सक्यो। नेपालका कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै ४४ बलमा ५२ रनको अर्धशतक पूरा गरे। त्यस्तै, दीपेन्द्रसिंह ऐरीले पनि २१ बलमा आक्रामक ४४ रन बनाए। तर, उनीहरूको प्रयास जितका लागि पर्याप्त भएन।
पाकिस्तान शाहीन्सका बलर मोहम्मद वासिम र फैसल अकरमले २-२ विकेट लिएर नेपालको जितको बाटो छेकेका थिए।
Facebook Comment