एनटी टिभी सेवालाई निरन्तरता दिन नेपाल टेलिकमले नयाँ टेन्डर आह्वान गर्ने तयारी, हालको ठेक्काको म्याद डिसेम्बरमा सकिँदै।
काठमाडौं । नेपाल टेलिकमले आफ्नो आईपीटिभी सेवा, एनटी टिभी, लाई थप प्रभावकारी बनाउनका लागि नयाँ बोलपत्र (टेन्डर) आह्वान गर्ने तयारी गरेको छ। हाल यो सेवा भीएनपीटी टेक्नोलोजी (भियतनाम) र कलश (नेपाल) को संयुक्त कम्पनीले सञ्चालन गरिरहेको छ, जससँगको सम्झौताको म्याद डिसेम्बर २०२५ मा सकिँदैछ।
टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले हालको सम्झौताको म्याद सकिनुअघि नै नयाँ टेन्डर प्रक्रिया सुरु गरिने जानकारी दिनुभयो। टेलिकमले सन् २०१९ मा उक्त कम्पनीसँग पाँच वर्षको लागि सम्झौता गरेको थियो, जसलाई एक वर्ष थप गरेर डिसेम्बर २०२५ सम्म पुर्याइएको हो।
सन् २०२१ को जनवरीमा सुरु भएको एनटी टिभी सेवा अहिले नेपालका सबै ७७ जिल्लामा उपलब्ध छ। टेलिकमको फाइबर टु द होम (FTTH) सेवाको विस्तारसँगै यसका ग्राहकको संख्या पनि बढ्दै गएको छ, जसको संख्या यसै वर्षको असार मसान्तसम्ममा ६७,६९९ पुगेको छ।
एनटी टिभीले हाल १८५ भन्दा बढी टेलिभिजन च्यानलहरू उपलब्ध गराउँदै आएको छ। ग्राहकहरूले २५० रुपैयाँमा बेसिक प्याकेज र ३६० रुपैयाँमा प्रिमियम प्याकेज खरिद गर्न सक्छन्। यस सेवाले आईपीटिभी, ओटीटी प्लेटफर्म, सेट-टप बक्स, र आवश्यक हार्डवेयर तथा सफ्टवेयरको पनि व्यवस्थापन गर्दै आएको छ।
नयाँ टेन्डरबाट टेलिकमले यो सेवालाई थप सुदृढ बनाउने अपेक्षा गरेको छ।
Facebook Comment