अनुसन्धानलाई आधार बनाएर मात्र पर्यटन दिगो हुन्छ : सीईओ जोशी

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले अनुसन्धानलाई प्राथमिकतामा राख्दै मात्र नेपालको पर्यटन दिगो र प्रतिस्पर्धी बन्न सक्ने बताएका छन्।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा नेपालीज मार्केटिङ एसोसियसनका सचिव डा. सुशिल अवालेको ‘नेपालमा पर्यटन प्रवर्द्धनको प्रभाव’ विषयमा गरिएको विद्यावारिधी (पीएचडी) अनुसन्धानबारे छलफल कार्यक्रममा बोल्दै उनले बोर्डले तथ्य र अनुसन्धानमा आधारित नीति अवलम्बन गर्दै आएको जानकारी दिए।

“पर्यटन क्षेत्रमा दीर्घकालीन प्रतिस्पर्धा गर्न तथ्यमा आधारित योजना अपरिहार्य छ। त्यसैले अनुसन्धानलाई प्राथमिकतामा राखेर मात्र नेपाललाई दिगो र आकर्षक गन्तव्य बनाउन सकिन्छ,” सीईओ जोशीले भने।

नेपाल पर्यटन बोर्ड सार्वजनिक–निजी साझेदारी मोडलमा आधारित संस्था भएको उल्लेख गर्दै उनले विगत २७ वर्षदेखि नेपाललाई विश्वस्तरको प्रमुख पर्यटक गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित काम गर्दै आएको बताए।

उनका अनुसार बोर्डले अघिल्ला वर्षहरूमा ‘रेजिलियन्स बिल्डिङ’, ‘रिभाइभल’ तथा ‘एग्रेसिभ मार्केटिङ’ जस्ता रणनीति अपनाएर अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटनलाई प्रवर्द्धन गर्दै आएको छ। उनले बजार प्रवर्द्धन केवल प्रचार–प्रसारमा सीमित नभई अनुसन्धानलाई केन्द्रीय आधार बनाउनुपर्ने आवश्यकतामा जोड दिए।

सीईओ जोशीले नेपाललाई ‘प्रिमियर भिजिटिङ डेस्टिनेशन’ बनाउन अनुसन्धानलाई केन्द्रमा राखी आगामी योजनाहरू अघि सारिने बताए। साथै, डा. अवालेको अनुसन्धानलाई सम्पत्तिको रूपमा सुरक्षित गरी रणनीति बनाउन प्रयोग गरिने पनि उनले स्पष्ट पारे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *