छोरीहरूद्वारा बाबुको किरिया गर्दा समाजमा सङ्घर्ष र बहिष्कारको चेतावनी

काभ्रे । पनौती नगरपालिका–१, रयालेका अगुवा तथा कम्युनिष्ट नेता हरिप्रसाद सापकोटाको निधनपछि उनकी तीन छोरीले काजकिरिया गर्दा समाजबाट विरोध र बहिष्कारको चेतावनी आएको छ। ९१ वर्षीय सापकोटाको साउन २५ गते निधन भएको थियो।

सन् २०५३ सालमा श्रीमतीको मृत्यु भएपछि छोरा नभएको भन्दै गाउँलेले गरेको दुर्व्यवहारबाट पीडित हरिप्रसादले आफ्ना छोरीहरूलाई नै समाज परिवर्तनको अभियानमा लगाएर हुर्काएका थिए। उनले आमा र बुबा दुवैको कर्तव्य निभाउँदै आएका थिए।

प्रधानमन्त्री र पूर्वराष्ट्रपतिले दिए समवेदना
बुबाको किरिया बसेका सापकोटाका तीन छोरीलाई प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले फोनमार्फत समवेदना व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले सोमवार फोन गरेर शोक व्यक्त गर्दै छोरीहरूले देखाएको साहस र सामाजिक चेतनाको प्रशंसा गरे। उनले बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटा, नेकपा (एमाले) धादिङका सचिव राधिका सापकोटा र बौद्धिक परिषद् काभ्रेपलाञ्चोककी कोषाध्यक्ष निर्मला सापकोटाको यो कदमले समाजमा परिवर्तन ल्याउने बताए।

त्यस्तै, पूर्वराष्ट्रपति भण्डारीले बुधवार फोन गरी “धेरै-धेरै समवेदना छ” भनेको पारिवारिक स्रोतले जनाएको छ। उनले छोरीहरूले बुबाको किरिया गर्दा समाजले विरोध गर्नु गलत भएको बताउँदै यस्तो सोचको आलोचना गरिन्।

समाजको बहिष्कारको चेतावनी र छोरीहरूको आक्रोश
सापकोटाका पाँच छोरीमध्ये तीन जनाले बुबाको किरिया बसेका छन्। दुई छोरी अस्वस्थताका कारण किरियामा बस्न सकेनन्।

वि.सं २०५२ सालमा आमाको निधन हुँदा किरिया बस्न खोज्दा समाजले अस्वीकार गरेको गुनासो गर्दै यस पटक उनीहरूले छोरा नभएपछि साउन २६ गते दागबत्ती दिएर बुबाको दाहसंस्कार गरेका थिए। यस कार्यलाई स्थानीयले स्वीकार गर्न चाहेनन् र बहिष्कारको चेतावनी दिए।

उपप्रमुख विमला सापकोटाले सामाजिक सञ्जालमा लेख्दै समाजका अगुवाहरूले बहिष्कारको बैठक गरिरहेकोमा आक्रोश पोखिन्। उनले “महिलामाथिको विभेद कहिले अन्त्य हुन्छ” भन्दै यस्तो बहस रोक्न आग्रह गरिन्। उनले थपेकी छन्, “हामीले अरू कसैको वंशमा दखल गरेका छैनौँ, हामीलाई थप पीडा नदिनुहोस्। हामी बहिष्कार हुन तयार छौँ, तर १३ दिनसम्म बुबाको किरिया गर्न दिनुहोस्।”

उनले यो कदमले हजारौं छोरीहरूलाई न्याय हुने दाबी गर्दै कानुन र संविधानको बर्खिलाप हुने काम नगर्न चेतावनीसमेत दिएकी छन्। दाहसंस्कारको समयमा दाजुभाइ र छिमेकीले शव छाडेर हिँडेको पनि उनले बताइन्।

छोरीहरूको यो कदमलाई सामाजिक सञ्जालमा व्यापक समर्थन मिलेको छ। यद्यपि, उनीहरूका पहिलो पुरोहितले समाजको धम्कीपछि किरिया गराउन नसक्ने बताएपछि अर्का पुरोहितबाट किरियाको काम भइरहेको छ।

नेपालको संविधान र मुलुकी देवानी संहिताले छोरा र छोरीलाई सम्पत्ति, उत्तराधिकारी र काजकिरियामा समान अधिकार दिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *