रुपन्देहीमा नेपाल आयल निगमको नयाँ इन्धन डिपो बन्ने
काठमाडौं । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकामा अत्याधुनिक प्रादेशिक इन्धन डिपो निर्माण गर्ने भएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा निगमले करिब २५.५ बिघा क्षेत्रफलमा यो डिपो निर्माण गर्न लागिएको जानकारी दिएको हो। काठमाडौं विश्वविद्यालयले तयार गरेको डिपोको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निगमलाई हस्तान्तरण गरिएको छ।
बढ्नेछ भण्डारण क्षमता
हाल रुपन्देहीको भलवारी डिपोमा पेट्रोल, डिजेल र मट्टितेलको भण्डारण क्षमता क्रमशः ५१९ किलोलिटर, ३,०४० किलोलिटर र २८० किलोलिटर छ। तर, नयाँ बन्ने डिपोमा क्षमता उल्लेख्य रूपमा बढ्नेछ।
डिजेल: ४,५०० किलोलिटर क्षमताका ३ वटा ट्याङ्क
पेट्रोल: २,१०० किलोलिटर क्षमताका २ वटा र ७६० किलोलिटर क्षमताको १ वटा ट्याङ्क
मट्टितेल: ७६ किलोलिटर क्षमताका ३ वटा ट्याङ्क
परियोजनाको कुल लागत करबाहेक ५ अर्ब ७९ करोड ३० लाख ८४ हजार ९४९ रुपैयाँ अनुमान गरिएको छ। यसका लागि आवश्यक जग्गामध्ये ११ बिघा खरिद भइसकेको छ भने बाँकी ८.५ बिघा जग्गा निगमको स्वामित्वमा ल्याउन गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमार्फत पहल भइरहेको छ।
Facebook Comment